राजनीति

प्रतिनिधि सभामा सांसदहरुको चासाे, वर्षा आउन लाग्यो मलखाद अभाव होला 

प्रतिनिधि सभामा सांसदहरुको चासाे, वर्षा आउन लाग्यो मलखाद अभाव होला 


काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष र शुन्य समयमा सांसदहरुले समसामयिक विषयबारे संसदको ध्यानाकर्षण गराएका छन् । मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आँकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

 

विशेष समयमा धारणा राख्दै सांसद मेटमणि चौधरीले ‘भान्सेको बिग्रे एक दिन, कृषकको बिग्रे वर्ष दिन’ भनेजस्तो अहिले धान रोप्ने सयममा मलखादको अभाव रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद प्रेम सुवालले रोपाइँ शुरु हुँदा पनि कृषकले मल नपाएको तर्फ सरकारले ध्यान दिएको छ की छैन भन्ने प्रश्न गर्दै सरकार कृषकप्रति जवाफदेही हुन नसकेको गुनासो गर्नुभयो ।

 

सांसद कुमारी मेचले सुकुम्वासी समस्या समाधानका लागि तत्काल आयोग गठन गर्न र मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जाखिम रोकथामका कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो । 

 

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाका ठाडा खोलामा बाढीको उच्च जोखिम रहेकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


सांसद केदार सिग्देलले पनि सेती नदीको कटान रोक्न समयमै ध्यान दिन आग्रह गर्नुभयो ।


सांसद आशाकुमारी विकले फागुन १ गतेदेखि रु एक करोड मुनिका सडक आयोजनामा सडक खन्न डोजर चलाउन नपाउने सरकारले नियम लगाए पनि ग्रामीण क्षेत्रमा यो नियम लागू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

 

सांसद गगनकुमार थापाले पुस्तक आयातमा दश प्रतिशत भन्सार कर लगाउने नियम फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  


सांसद राजेन्द्र केसीले पुस्तक आयातमा दश प्रतिशत भन्सार लगाउने सरकारको नियमलाई तत्काल फिर्ता लिन माग गर्नुभयो ।


सांसद गजेन्द्रबहादुर महतले संसद् सचिवालयले प्रदान गर्ने भनेको ल्यापटपको के काम ? भन्ने प्रश्न गर्दै संसद् सचिवालयको पुस्तकालयलाई व्यवस्थित गर्न माग गर्नुभयो । 


सांसद गणेशकुमार पहाडीले सिन्धुलीको सुनकोशी र कठजौर क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।


सांसद उमाकान्त चौधरीले प्रतिनिधिसभा कृषि समितिमा नेकपाका सांसद राधा ज्ञवालीले राख्नुभएको धारणाले थारु जातीलाई चोट पुगेको भन्दै उहाँले तत्काल माफी माग्नुपर्ने आग्रह गर्नुभयो ।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई उपचारका क्रममा राम्रो व्यवहार गर्न माग गर्नुभयो । 


 सांसद झपट रावलले संसद्मा मर्यादित भाषा शैली अपनाउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

विशेष