राजनीति

विप्लव छिट्टै मुल राजनीतिमा : प्रचण्ड

विप्लव छिट्टै मुल राजनीतिमा : प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ढिलोचाँडो  नेत्रविक्रम चन्द ‘विप्लव’ मुलधार राजनीतिमा फर्किने बताउनुभएको छ ।  भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अशान्ति फैलाएर समस्या समाधान नहुने भन्दै विप्लव छिट्टै मुलधारमा फर्किने जानकारी आफूले पाएको बताउनुभयो ।  विगतमा पार्टी फुटाएर गएकाहरु फर्किँदै आईरहेको स्मरण गराउँदै विप्लव पनि त्यसरी नै आउने उहाँले दाबी गर्नुभयो । 


देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाउनुभयो । “महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ”, भन्नुभयो । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उहाँको आग्रह थियो ।     


     
कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका लागि तीनैतहका सरकारबीच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ ।”     


त्यसक्रममा महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६÷७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

विशेष