भिडियो Breaking News राजनीति

संविधान सभा पदक नकिनेको चिट्ठाका हकदार

संविधान सभा पदक नकिनेको चिट्ठाका हकदार

काठमाडौँ । तत्कालीन संविधानसभा सदस्य भएकाहरुका लागि सरकारले यसपटक गणतन्त्र दिवसको अवसर पारेर पहिलो र दोस्रो संविधानसभाका गरी ११०९ जना संविधानसभा सदस्यहरुलाई संविधानसभा पदक वितरण ग-यो । मन्त्रिपरिषद्को निर्णय बमोजिम गृह मन्त्रालय अन्तर्गतको विभूषण शाखाले पहिलो र दोस्रो संविधानसभाका सदस्यहरुलाई पदक वितरण सिफारिस गरेको हो ।

संविधान बनाएवापत् धन्यवाद व्यक्त गर्न पदक दिने भनी मन्त्रिपरिषदको निर्णय बमोजिम पदकबाट संविधान सभाका सबै सदस्यहरुलाई पदक वितरण गरिएको गृह मन्त्रालय अन्तर्गतको विभूषण शाखाका शाखा प्रमुख महादेव पन्तले जानकारी दिए । 

‘अदालतबाट दोषी ठहरिएका वा दोष लागेका बाहेकलाई पदक सिफारिस गरिएको छ । ’ पन्तले नेपाल आजसँग जानकारी दिए । पदक पाएकाहरु विहीबार विहानैदेखि राष्ट्रपति कार्यालयमा लामबद्ध थिए । पहिलो संविधानसभाले ९१ अर्ब बढी स्वाहा गरेपछि पनि संविधान जारी गर्न नसकेको यथार्थ हामीमाझ छर्लङगै छ । दोस्रो संविधानसभा चुनावपछि पनि संविधानका मुलभूत विषयमा सहमति नजुट्दा संविधान सभाभित्रै तोडफोड भयो ।

दुई वर्षभित्रै संविधान जारी गर्ने पहिलो संविधानसभाको कार्यादेश विपरीत पटक पटक म्याद थप गरी २०६९ जेठ १४ मा संविधानसभा नै विघटन गरिएको तीतो यथार्थ छ । दलीय विश्वासको वातावरण नबन्दा २०७० मंसिरमा तात्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्नु परेको थियो । त्यसपछि पनि संविधान जारी हुने अवस्था नहुँदा २०७१ माघ ५ गते संविधानसभाभित्रै तोडफोडमा संविधानसभा सदस्यहरु उत्रिए । २०७२ असोज ३ मा जारी गरिएको संविधानप्रति असन्तुष्टि जनाएका मधेश केन्द्रित दलले संविधानप्रति अझै चित्त बुझाएका छैनन् । तथापि पदक  लिन उनीहरु लामबद्द  थिए ।

गृह मन्त्रालयको पदक तथा विभुषण महाशाखाका अनुसार ७ सय १४ जना सभासद्ले विभूषण तथा प्रमाणपत्र लिएका छन् । २०६४ साल र २०७० सालमा भएका संविधानसभाका सांसदहरुलाई वितरण गरिएकोे पदक लिनका लागि २ चरणमा गरी समय छुट्याइएको थियो । विभूषण तथा बैठक समारोह शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले अघिल्लो बुधबार नै सूचना जारी गरेको थियो । ९० जना सांसद् अघिल्लो संविधानसभाबाट दोहोरिएका थिए ।

८ सयभन्दा केही बढीले पदक पाउन फारम भरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु भएका सभासद्को विभूषण परिवारले गृह मन्त्रालयबाट पाउने छन् । पदक नेपाली सेनाले बनाएको हो । पदकमा ७ वटा गुराँसका फूल, बीचमा संविधानको किताव, सूर्य चिन्ह र हात मिलाएको तस्वीर राखिएको छ । संविधानसभा पदकसँगै सभासद्हरुलाई प्रमाणपत्र पनि दिइएको छ, जसमा ‘नेपालको संविधान निर्माणमा योगदान पु-याउनु भएकाले यहाँलाई संविधानसभा पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ’ लेखिएको छ ।


पदक/तक्मा चलन 
विज्ञहरूका अनुसार मान पदवी, अलंकार दिने चलन बेलायतबाट सुरु भएको हो । बेलायती राजाले आफ्ना बफादारहरुलाई बहुमुल्य धातुजडित चिह्नद्धारा सुशोभित गर्ने चलन थियो । त्यसैको एउटा भाग विभूषण हो । बेलायतमा महारानीको जन्मोत्सवमा सुशोभन गर्ने चलन छ ।

नेपालमा पनि राजतन्त्रभरि राजाको जन्मोत्सव पारेर पदक दिने चलन थियो । गणतन्त्र घोषणापछि गणतन्त्र दिवसको अवसर पारेर दिन थालिएको हो । संविधान दिवस असोज ३ मा सिफारिस भएकाहरुलाई वैशाख १ गतेको नववर्षको दिन विभूषण दिने चलन छ । यस वर्ष संविधानसभा पदक १६ गते वितरण गर्ने भनेर मन्त्रिपरिषद्को जेठ ६ गतेको बैठकले निर्णय गरेको थियो । 


विभूषण,पदक, तक्मा श्रृङखला

विभूषण, पदक, तक्माबारे सबैका आ–आफ्नै मत पाइन्छ । कतिपयले विहीबार वितरण गरिएको पदकलाई लिएर सकारात्मक टिप्पणी गरेका छन भने कतिपयले तीब्र विरोध प्रकट गरेका छन् । यद्यपि पदक, तक्मा, विभूषणको चलन भने पञ्चायतकालदेखि नै सुरु भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको विभूषण शाखाका अनुसार पञ्चायतकालभरि विभूषण पाउनेहरु राजपरिवारका सदस्य, उनीहरुको आसेपासे वा निकटकाहरुले मात्र विभूषण लिन्थे । यसरी हेर्दा विभूषण लिनेहरु दरबारिया निकट हुनुपथ्र्यो वा विभूषण नपाउनेहरुलाई दरबारको निकट नभएको अनुभूति हुन्थ्यो । 

राजपरिवारका सदस्यहरु ‘ज्योतिर्मय सुविख्यात त्रिशक्ति पट्ट (पहिला)’ बाट विभूषित हुन्थे, जुन उपल्लो कोटीको पदक मानिन्थ्यो । पञ्चायतकाल र संसदीय कालभरि विभिन्न पदक, तक्माले स्थान पाए । ‘महेन्द्रमाला’, ‘वीरेन्द्रमाला’, ‘ओजस्वीराजन्य’, ‘त्रिभुवन प्रजातन्त्रश्रीपद’, ‘नेपाल श्रीपद’, ‘नेपालतारा’, ‘ॐ रामपट्ट’, ‘वीरेन्द्र प्रजातन्त्र भास्कर’, ज्योतिर्मय सुविख्यात त्रिशक्ति पट्ट, महाउज्ज्वल कीर्तिमय नेपालश्रीपद, ‘त्रिशक्तिपट्ट’ र ‘गोरखा दक्षिणबाहु’ 
(पहिलादेखि पाँचौंसम्म) जस्ता पदक वितरण गरिन्थ्यो । पञ्चायतकाल सकिएपछि पनि तक्मा राजनीतिले उत्तिकै स्थान लिएको छ । ठूलो परिणाममा हीरा–जुवाहरत र सुन खर्च हुने तक्मा प्राप्त गर्न सबै उत्तिकै लालायित हुन्छन् । 

आफ्नै हात जगन्नाथ कि योगदानको कदर  ?
विभूषण दिनु वा लिनका लागि केही आधारभूत पक्ष हुन्छन् । विभूषण किन दिने ? के कति प्रयोजनका लागि दिने ? वर्तमानमा त्यसको सान्दर्भिकता छ कि छैन ? अझ कानूनी आधार खोज्ने हो भने राष्ट्रिय जीवनका महत्वूर्ण क्षेत्रमा योगदा पु¥याएका, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणत्मक र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘विशिष्ट’ योगदान पु-याएकाहरु मात्र विभूषित हुन योग्य छन् ।

तर विभूषण वा पदक लिन आफ्नै हात जगन्नाथ गर्ने प्रचलन राजा महाराजहरुको पालादेखि नै चलेको छ । राजा महाराजाले जन्मदिनको अवसर पारेर विभूषण दिने गरेका थिए । 

लोकतन्त्र बहालीपछि चार वर्ष विभूषण वितरण बन्द भयो । यो श्रृङखला २०६७ बाट फेरि सुरु भयो । अहिले चारथरीका मान–पदवी, ९ प्रकारका अलंकार, १४ किसिमका पदक वितरण हुन्छ । मान–पदवीमा नेपाल रत्न, राष्ट्र गौरव, राष्ट्रद्वीप र जनसेवाश्री पर्छन् । राष्ट्रद्वीप र जनसेवाश्री प्रथमदेखि पाँचौं गरी ५÷५ श्रेणीका छन् । गृह मन्त्रालयका अनुसार विभूषण, तक्मा बनाउन हरेक वर्ष १५ करोड बढी खर्च हुन्छ ।

यी सबै बीच एउटा प्रश्न उब्जिएको छ– संविधान बनाउन पहिलो सभा असफल भयो । संविधान जारी हुन सकेन दोस्रो संविधानसभाले निकै रस्साकस्सीबीच संविधान जारी ग-यो त्यो पनि ३ वर्ष पहिले । अब अहिले आएर संविधान बनाएवापत् धन्यवाद दिने ? पदक वितरण इरादाले कि सम्मान गर्न ? अर्कोतर्फ २ वर्षभित्र काम फत्ते गर्छु भनेर चुनिएका प्रतिनिधिले पटक पटक संविधानसभाको म्याद थप गर्दै संविधान जारी गर्न सकेनन् अन्ततः तीब्र जनदबाबपछि बल्लतल्ल संविधान जारी गरियो अनि अहिले धन्यवाद । अघिल्ला वर्ष राजनीतिक दलका नेता, उनका परिवार कर्मचारी, कर्मचारीका परिवार, दलका आसेपासेको श्रृङखला यस वर्ष सभासद्हरुमै पुगेको छ । 

सर्वसाधारणदेखि विज्ञको विरोध
संविधान सभा पदक वितरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भैरहेका छन् । अधिकांशले सभासदाई दिइएको पदकलाई लिएर नकारात्मक टिप्पणी गरेका छन् । सर्वसाधारणमात्र होइन राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले तक्मा आफैँमा खराब नभएपनि अहिले आएर गणनायोग्य हुनुपर्ने नभएको बताए । ‘ यसको प्रयोजन केही छैन । ६०१ को डफ्फाले संविधान जारी गर्न नसकेको र त्यसपछिका डफ्फाले स्वीकार नगरिरहेको सन्दर्भमा यसको प्रयोजन, सान्दर्भिकता छैन । ’ उनले बताए । डा. केसीको विचारबारे हेर्नुहोस् भिडियो : ">

विशेष