राजनीति

सरकार ढाल्ने देउवाको धम्की

सरकार ढाल्ने देउवाको धम्की

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार नरोके सरकार ढालिदिने चेतावनी दिनुभएको छ । 


कांग्रेस निकट स्थानीय निकायका कर्मचारीहरुको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएका कुनै पनि विधेयकहरु पारित हुन नदिने अडान दोहोर्याउनु भयो । 

सभापति देउवाले लोकतन्त्रका लागि राणा, पञ्चायत र राजतन्त्र ढालेको कांग्रेसका लागि केपी ओली नेतृत्वको सरकार ढाल्नु कुनै समस्या नहुने बताउनुभयो । 

उहाँले राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीमाथि विभेदपूर्ण व्यवहार नगर्न सम्झाउँदै वर्षौंदेखि स्थानीय तहमा अस्थायी रही काम गर्दै आएका कर्मचारीहरुलाई स्थायी गर्न आग्रह गर्नुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण देश संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणमा  तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराउनुभयो ।

वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

शुक्रबार ललितपुरको एक होटलमा देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता भएको छ । सत्तारुढ दलसंग प्रतिपक्षीको दूरी बढेका बेला अध्यक्ष प्रचण्डले देउवासंग भेट गर्नुभएको हो । सो अवसरमा शान्तिप्रक्रियाका बाँकी काम मिलेर गर्ने विषयमा दुई नेताबीच छलफल भएको थियो । अर्का अध्यक्ष केपी ओली कांग्रेससंग रुष्ट देखिए पनि प्रचण्ड कांग्रेसलाई विकासको मूलधारमा संगसंगै लिएर जानुपर्ने अभिव्यक्ति दिँदै आउनुभएको छ ।  

शेरबहादुर देउवा

विशेष