नेपाल आज विशेष

यसो गरे जीवन बन्छ सार्थक

यसो गरे जीवन बन्छ सार्थक

जीवनको परिभाषा दिने क्रममा एकजना विद्वान लर्ड सेलिबरीले भनेका छन्– ‘जीवन एकप्रकारको खेती हो । यसमा जे रोपिन्छ, त्यही फल्छ ।’ हो, सेलिबरीले भने जस्तै जीवन एकखाले खेती नै हो । मान्छेले चाह्यो भने आफ्नो जीवन जसरी पनि बिताउन सक्छ । आज संसारमा जति पनि मानिस छन, तिनीहरु मध्ये केहीको जीवन सुखपूर्वक वितिरहेको छ भने केही अत्यन्त विषादपूर्ण बनिरहेको छ । यद्यपि हरेक मानिसको इच्छा आफ्नो जीवन सुखद होस् भन्ने रहन्छ । यो चाहना स्वाभाविक पनि हो । चाहनाले मात्र जीवन सुखी हुने होइन । सुखी जीवनका लागि केही संकल्प जरुरी छ । आत्मशुद्धि हुनुपर्छ । यही आत्मशुद्धि र जीवनपद्धति अनुकूल अघि बढ्ने प्रण पनि गर्नुपर्छ । आउनुस् असल जीवनका लागि केही टिप्स यहाँ प्रस्तुत छ । 

१. स्वास्थ्यमा ध्यान दिनुपर्छ । स्वास्थ्य बिग्रियो भने मानिस जतिसुकै योग्य र प्रतिभाशाली भएपनि राम्ररी काम गर्न सक्दैन् । त्यसैले त भनिन्छ– स्वास्थ्य नै धन हो । 

२. सुखी जीवन बिताउन मानिसले आफूप्रति सधैं आशावादी र सकारात्मक दृष्टिकोण अपनाउनु पर्छ ।

३. योग्यता र क्षमताले भ्याएसम्म केही न केही काम गर्नुपर्छ । बिर्सेर पनि विना काम बस्नु हुँदैन् । 

४. सम्भव भएसम्म आफ्नो काम आफैं गर्ने बानी बसाल्नु पर्छ । यसो गरेमा जीवनका हर क्षेत्रका अनुभव बटुल्न सकिन्छ । आत्मविश्वासको भावना सुदृढ हुन्छ । 

५. सधैं प्रसन्न रहने गर्नुपर्छ । प्रसन्नताले मानिसलाई मानसिक र शारीरिक लाभ प्राप्त हुन्छ । प्रसन्नताको सम्बन्धमा प्रसिद्ध साहित्यकार रविन्द्रनाथ टेगोरको भनाइ छ– ‘प्रसन्नता यस्तो बस्तु हो, जसबाट व्यक्तिलाई शक्ति प्राप्त हुन्छ । शरीर सुदृढ र मस्तिष्क परिष्कृत हुन्छ । 

६. आफूलाई अधिक मात्रामा आकर्षक बनाउने प्रयाश गर्नुपर्छ । 

७. काम गर्दा आराम र सुविधा पुग्ने काममा हात हाल्नुपर्छ । 

८. समय समयमा गीतसंगीत सुन्ने, सिनेमा, नाटक हेर्ने गर्नुपर्छ । 

९. व्यवहार अत्यन्त शिष्ट, मधुर बनाउनुपर्छ । यस्तो व्यवहार सबैलाई पाच्य हुन्छ । 

१०. सुखी जीवन विताउनु छ भने आफूलाई आएका हरेक निम्तो स्वीकारेर सभा समारोहमा सहभागिता जनाउनु पर्छ । 

११. उपयोगिताबादी बन्नुपर्छ । उपलब्ध हरेक सामग्रीको अधिक उपयोग गर्नुपर्छ । 

१२. समयअनुसार आफ्नो दिनचर्यामा फेरबदल गर्नुपर्छ । समयअनुकूल परिवर्तन भइएन भने समाजमा घुलमिल हुन अप्ठेरो पर्छ । 

१३. अरुको भरमा बस्नुहुन्न । आफूले आफूलाई बलियो बनाउनु पर्छ ता कि कठिन परिस्थितिसंग मुकाबला गर्न सहज होस् । यो गुणले प्रतिकूल अवस्थामा पनि स्वाभिमानी जीवन बाँच्न सहयोग पुग्ने छ । 

१४. आर्थिक अवस्था मजबुत गर्ने तर्फ पनि विचार पुर्याउन जरुरी छ । 

१५. मनमा लागेको कुरा नरम भएर बोल्ने स्पष्टवादी बन्नुपर्छ । 

१६. दिनभरको कार्यव्यस्तताबाट केही समय आफ्नो व्यक्तिगत रुचिअनुसारको काम गर्ने समय निकाल्नु पर्छ । जस्तै ः पुस्तक, पत्रपत्रिका पढ्ने, बगैंचा हेर्ने, बालबालिकासंग घुलमिल गर्ने, घुम्ने आदि । 

१७. मानसिक चिन्ताबाट मुक्त हुनुपर्छ । चिताले मृत मानिसलाई एकपटक जलाउँछ तर चिन्ताले जीवित मानिसलाई पटक पटक खग्रास बनाउँछ । 

१८. जीवनलाई मितव्ययी बनाउनु पर्छ । 

१९. समाजसेवी भावना लिनुपर्छ । दुखमा परेका मानिसलाई यथाशक्य सहयोग गर्नुपर्छ । यसले भावनामा सुखानुभूति हुन्छ । 

२०. समयमो सदुपयोग गर्नुपर्छ । जसले समयको सदुपयोग गर्छ, उसलाई समयले सम्मान गर्छ, साथ दिन्छ । समयको सदुपयोग सम्बन्धमा शेक्सपियर भन्छन्– ‘समय नै जीवन हो । समयको सदुपयोग जीवनको सदुपयोग हो ।’

२१. जीवनमा प्राप्त हुने हरेक सुअवसर ग्रहण गर्नुपर्छ । 

२२. हरेक पल आफ्नो उन्नति प्रगतिबारे सोच्नुपर्छ । 

२३. सधैं परिश्रमसाथ जीवन विताउने प्रण गर्नुपर्छ । अल्छी बन्नु हुँदैन् । विद्वान जेरमी टेलर भन्छन्– आलस्यले मानिसलाई जिउँदो लास बनाउँछ । 

२४. जीवनमा घटेका दुखद क्षण टिपोट गरेर राख्नुपर्छ । यी टिपिएका टिपोट दुख या मानसिक अशान्ति भएका बेला पढ्ने गर्नुपर्छ । 

२५. आफ्नो अधिकार र कर्तव्यप्रति सधैं सचेत रहनुपर्छ । 

२६. अहंकारको भावना त्याग्नु पर्छ । 

२७. जीवनमा प्रेमलाई सर्वाधिक महत्व दिनुपर्छ । मानवलाई प्रकृतिले दिएको अनुपम उपहार भनेकै प्रेम हो, त्यसैले प्रेम नै जीवनको सार हो । यो सत्य मनन् गरी प्रेम बाँड्नु पर्छ । बाँडेको प्रेमले उर्जा दिन्छ । व्यक्ति, परिवार, समाज, देश हुँदै विश्वमा फैलिएको प्रेमले पुरै मानव जीवन आल्हादित हुन्छ । महात्मा गान्धी भन्छन्– ‘प्रेम त्यो हतियार हो, जसले शत्रु पनि मित्र बनाउँछ ।’

२८. असल साथीको संगत गर्नुपर्छ र आफू पनि असल हुन सतत् प्रयाश गर्नुपर्छ । 

२९. आफूबाट भए गरेका गल्ती, कमजोरी फेरि दोहोर्याउनु हुँदैन् । 

३०. भविष्यप्रति चिन्तित हुनुहुन्न । वर्तमान राम्रो बनाउनु पर्छ । वर्तमान राम्रो भए भविष्य स्वतः राम्रो हुन्छ भन्ने विश्वास राख्नुपर्छ । 

३१. सुखीपूर्वक जीवन विताउन विवाहयोग्य युवायुवतीले विवाह गर्नुपर्छ । विवाहित जोडीमा भावनात्मक तालमेल हुनुपर्छ । यसो हुन सकेन भने वैवाहिक जीवन मात्र हैन, सम्पूर्ण जीवन नै निरस हुनपुग्छ । 
सुखी जीवनका यी सूत्र अवलम्बन गरेर हेर्नुस त, कसो सुख, शान्ति तपाईंको दास बनेर नआउला त ?
 

जीवन सुखी जीवन

विशेष