राजनीति

आफूसँग २५ हजार कार्यकर्ता रहेको गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस

आफूसँग २५ हजार कार्यकर्ता रहेको गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस

काठमाडौं : कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन् । उनीसँगै आएका जितेन्द्र देव भने राष्ट्रिय सभा सदस्य निर्वाचित भए । तर, गच्छदारलाई भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । उनीसँगै आएका रामजनम चौधरीलगायत दर्जनौँ अहिले भूमिकाविहीन अवस्थामा छन् । 

पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले अहिले  समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । यो सूचीको नामावली सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानबिन सक्न उपसभापति एवं समायोजन समितिमा संयोजक विमलेन्द्र निधिको समितिले शुक्रबार निर्देशन दिएको हो ।

किन गर्दै छ कांग्रेसले गच्छदारका क्रियाशील सदस्यको छानबिन ? 

उपसभापति विजयकुमार गच्छदारले गत २५ चैतमा तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट २५ हजार चार सय ६८ जना क्रियाशील सदस्य रहेको दाबी गरेका थिए । संस्थापननिकटकै एक नेताले गच्छदारले प्रस्तुत गरेका २५ हजार सदस्यमा गुटगत रूपमा नाम प्रवेश गराएको गुनासो आएपछि छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘विजय गच्छदारजीले २५ हजार सदस्यको नाम दिनुभएको थियो । यसमा गुनासो नहोस्, गुटगत प्रभाव नदेखियोस् भनेर नामबारे छानबिन गर्न खोजेका हौँ,’ देउवानिकटका तीन नेताले भने, ‘संस्थापनदेखि अरू गुटका नेताहरूमा पनि गुटगत रूपमा नाम घुसाए भन्न थालिएपछि छानबिन गर्न लागेका हौँ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

विजयकुमार गच्छदार नेपाली काँग्रेस

विशेष