रोपाइँसँगै चोपाइको रस
रोपाईंका बेलाका दृश्य हेर्न आजभोलि जो कोही लालायित हुन्छन् । फोटोमा रोपाईंसँगै चोपाईंको क्लाइमेक्स सिन छ भने त त्यो फोटो भाइरल नै हुन्छ । अझ अचम्म त के छ भने हिलैहिलो भएर गर्नुपर्ने रोपाईंमा सहभागी हुन कोहीकोही शृंगारपटारमा सजिएका हुन्छन् । विभिन्न मुद्रामा फोटो खिच्यो, सामाजिक संजालमा हाल्यो । अनि लाईक, शेयर र कमेन्टको वर्षामा ‘बाघ मारेको’ उपलब्धिमा रमायो ।
केही सौन्दर्य झल्कने र अधिकांश अर्धनग्न, अश्लील प्रकट भएका फोटोमै धेरैको रुचि हुन्छ । बर्षमा एकपटक खेतमा पाइला टेक्नेहरुका लागि मात्र यस्तो रोपाईं उत्सव हो, ग्ल्यामर हो । जीवनभर नङ्ग्रा खियाउनेहरुका लागि यस्ता गतिविधि व्यङ्ग्य मात्र हुन् । रहर हुने फोटोमा रमाउँछन, कहरमा परेकाहरुको न कथा बन्छ, न कहानी नै ।
असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला‘..।
यी गीतले पनि रोपाईं एक मनोरञ्जनात्मक पर्व हो भन्ने देखाउँछ । जसरी असारमा धानको बिउ हरिलो भरिलो हुन्छ, मान्छे भित्र पनि शक्ति र मादकता भरिएको हुन्छ । फेरि एकपटक दोहर्याउँ :
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला ।
सुख्खा यो ज्यान असारको पानीले भिजाउने र अनि कान्छालाई लाठे बनेर पिरतीका लागि आमन्त्रण गर्ने कति रसिलो छ । यो एक किसिमको आमन्त्रण होइन र ?
केही वर्ष अघि तत्कालिन कृषि मन्त्री हरि पराजुलीले रोपाईंमा देखाएको हर्कतमा बासना मिसिएकाले नै त्यसको चर्चा भएको हो । उनले रोपाईको वाहनामा गरेका व्यवहार र बोलेका संवादमा बासनाको आवेग थियो ।
मन्त्री पराजुली आफू त हिलोमा चोपिए नै एकछिनको रमाइलोका लागि आफनो राजनीतिक जीवन नै सदाका लागि चोपिदिए । अरुका लागि पर्व बनेको असार १५ उनका लागि खग्रास ग्रहण बनेर उनको जिन्दगीको पात्रोमा लेखियो । जुन कहिल्यै मेटिने छैन् ।
रोपाईंसँगै चोपार्र्ईं पनि एक संस्कृति हो । नवविवाहित जोडी, नयाँ जन्मेको शिशुलाई रोपाईंका बेला हिलो लगाउनुपर्छ भन्ने सामाजिक मान्यता छ । विवाह गरेर आएकी दुलहीलाई नयाँ गाउँको माटो चिनाउन तथा जन्मेको शिशुलाई पनि आफू जन्मेको र अब हुर्किने माटोसँग साक्षात्कार गराउन हिलोमा चोप्ने गरिन्छ । यो आफनो माटोसँगको सम्बन्ध र साक्षात्कार पनि हो । यस्तै, रोपाईंका बेला कुनै पाहुना आए उनलाई पनि आफनो गाउँको हिलो लगाएर सम्बन्ध स्थापित गर्ने प्रचलन छ ।
अझ विदेशतिर त हिलो र मानव शरीरको अचम्मको सम्बन्ध छ । केही वर्षयता विभिन्न देशमा ‘मड फेस्टिवल’ संस्कृति निकै मौलाएको छ । यो केवल रमाइलोका लागि मात्र होइन । मुटु र छाला सम्बन्धी विभिन्न समस्या भएका विरामीलाई चिकित्सकले ‘हिलो खेलेर आउन’ सुझाव दिने गरेका छन् । हिलो खेल्दा प्राप्त हुने माटोको सुगन्ध, कसरत तथा त्यसले छालासँगको सम्र्पकबाट शरीर भित्र पुर्याउने तत्व लगायतले रोग निको पार्न मद्दत पुग्ने चिकित्सकको विश्वास छ ।
विडम्बना के छ भने मुलुकमा ११ प्रतिशत मात्र रोपाईं भएको छ । धान उत्पादन जति हुन्छ, त्यो भन्दा बढी चामल आयात गर्नुपर्ने अवस्था छ । सिंचाई सुविधा केही पनि छैन । ७० प्रतिशत धान फल्ने खेत चर्को गर्मीले धाँजा फाट्ने अवस्थामा छन् । आकाशे पानीको भरमा बसेका किसान बीउ ब्याडमै सुक्छ कि भन्ने सन्तापमा छन् ।
सुखद पक्ष के छ भने नेपाली जस्तोसुकै परिस्थितिमा पनि खुशी हुन जानेका छन् । पानी होस नहोस, धान फलोस नफलोस त असारे गीत भने मज्जाले रन्काउँछन् ।
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलीमा
यो पूर्वी नेपालमा गाइने भाका हो । देशभर नै असारे भाकामा रोपाईं गर्नुको आनन्द छुट्टै छ । यो बेला आपसमा जिस्किने, ठट्टा, रमाइलो हिलो छ्यापाछ्याप, हिलो दलादल, उठाउने, पल्टाउने सबै हुन्छ । यी सब कर्म क्षम्य पनि हुन्छन् । यो असारको तागत हो । सिर्जनाको सामथ्र्य हो । त्यसै पनि असार सिर्जना हो । असारको मानोले नै मंसिरको मुरी बोलाउने हो ।
कर्णाली क्षेत्रको असारे गीत यस्तो छ :
कठै उमा देश हाम्रा माइत जाइआ भमर
कठै बुवाज्यूका बगलीमा बस्यै भमर
हाम्रा बुवा सोध्याउन्ना बोल्यै भमर
तम्री चेली बडा दुःख कहेइ भमर
थाहा पाउनैपर्ने विषय के छ भने राष्ट्रिय धान दिवस असार १५ मा मनाइएपनि जुम्लामा भने यो दिवस चैत १२ गते मनाउने गरिन्छ । उच्च हिमाली क्षेत्र अर्थात चिसोमा फल्ने धानको बीउ चैत १२ गते राख्ने गरेकाले सोही दिन जुम्लामा धुमधामसंग महोत्सव नै गरिन्छ ।
जुम्लामा खासगरी कालीमार्सी धान फल्ने गर्छ । रातो मार्सी पनि व्यापक फल्ने गर्दछ । कालीमार्सीको कथा अहिलेको होइन् । नेपालका शासकहरुमा सवैभन्दा विलासी मानिएका राणाको चुलोमा उसबेला नै जुम्लाको कालीमार्सी चामलको भात पाक्थ्यो । आखिर सात दशकपछि भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले इतिहास दोहोर्याए । जुम्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सी लगाउने गरिएको छ ।
मुलुकको कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत कृषिजन्य उपजले धानेको छ । त्यसमा पनि १२ प्रतिशत त धानले मात्रै धानेको छ । यस्तो बेला रोपाईंलाई प्रोत्साहन पुग्ने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।