राजनीति

प्रचण्डको ‘क्षेप्यास्त्र’ ले नेकपामा तरंग

प्रचण्डको ‘क्षेप्यास्त्र’ ले नेकपामा तरंग

काठमाडौं । ‘यतिबेला किन बोले दाहाल’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ। प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे। यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए। भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो। दुई तिहाइको स्थायी सरकारको सन्देश दिइरहेका ओलीलाई डेढ वर्षपछि सत्ता हस्तान्तरणको सहमति खुलासाले मन खिन्न हुनु स्वाभाविक पनि थियो। ओली दिल्ली जाने तय भइसकेपछि यस्तो खुलासा गर्नु अर्का अध्यक्ष दाहालको रणनीति, बाध्यता वा परिबन्ध? के थियो भन्ने बहस सुरु भएका छन्।

 

निश्चय नै, दुई पटक प्रधानमन्त्री बनिसकेका दाहाललाई मुलुकको प्रधानमन्त्री विदेशमा जाने निश्चित भइसकेको वा प्रधानमन्त्री विदेशमा रहेका बेला सरकारका विषयमा बोल्नु उचित होइन भन्ने हेक्का थिएन भन्न मिल्दैन। प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला अख्तियारले रातारात पत्रकार सम्मेलन गर्दाको पीडा दाहालले यति चाँडै बिर्से होलान् र? राजनीतिमा ‘के बोलियो भन्ने कुराको जति महत्व छ। कतिबेला बोलियो’, भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ। भारतमा ५ वर्षका लागि मोदीको पुनः उदय भएको र उक्त समारोहमा ओली सहभागी हुने निश्चित भइसकेपछि दाहालको खुलासाले ‘ओलीको कार्यकाल ५ वर्ष’ छैन भन्ने ‘कूटनीतिक’ सन्देश प्रवाह गरेको बुझ्न कठिन छैन।

 

यसले ‘दीर्घकालीन महत्व र रणनीतिका विषयमा’ ओलीसँग कुनै सहमति÷सम्झौता वा कुराकानी नगर्न भारतको सत्तारोहणको तयारीमा रहेको नेतृत्वलाई सतर्क गराएको देखिन्छ। मुखले ठिक्क पारे पनि प्रधानमन्त्री ओलीसँग सन्तुष्ट हुन नसकेको भारतीय शासकलाई दाहालको खुलासाले खुसी नै बनाएको हुनुपर्छ । तर, ओलीले भने यसलाई नेपालको राजनीतिको चरित्र भन्दै असन्तुष्टि जनाए। ओली भारतमा हुँदा गम्भीर र खिन्न मुद्रामा देखिए । त्यसो त दाहालले करिब ६ महिनाअघि केही भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ताका क्रममा ५ बुँदे सहमतिबारे जानकारी गराएका थिए।


कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन आयोजित कार्यक्रममा सार्वजनिक पुस्तकमा पनि ५ बुँदे सहमतिपत्र छापिएको थियो । त्यतिबेला कुनै नेता–कार्यकर्ताले त्यसलाई गम्भीर रूपमा लिएनन्। ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै बन्यो, ५ बुँदेको खुलासा । हो, पार्टी एकतादेखि ५ बुँदे सहमतिको पत्र सार्वजनिक हुँदाको अवस्थामा यस्तै अन्योलमा थिए, नेकपाका कार्यकर्ता । पार्टी एकता गर्दाताका के सहमति भएको थियो? एकताको मोडेल के थियो? पदको बाँडफाँट के कसरी हुन्छ भनी सोध्दा, नेकपाका जिम्मेवार नेताबाट जवाफ आउँथ्यो, ‘था छैन ।’ यस्तै था छैनको अन्योलबीच एक वर्ष गुजारे उनीहरूले।

 

अब पोलिटब्युरो गठन, नेताको कार्यविभाजन के–कसरी हुन्छ भनेर सोध्यो भने अहिले पनि नेकपाका नेता ‘था’ छैन भन्ने जवाफ दिन्छन् । तर, कार्यकर्ताले ‘था’ छैन भन्दाभन्दै जिल्ला तहसम्म पुगिसकेको छ, एकता।यस्तै अन्योलबीच पार्टी अध्यक्ष दाहालले सत्ताको नेतृत्व बराबरी गर्ने सहमति भएको खुलासा गरेपछि नेकपाभित्र हलचल पैदा भयो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तरङ मात्र सिर्जना गरेको छैन, राजनीतिक ज्योतिषका अनेक भविष्यवाणी सार्वजनिक हुन थालेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

नेकपा ओली–प्रचण्ड

विशेष