पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही विप्लव
काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ । प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको हो ।
प्रहरीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धयता हालसम्म नेकपाका ४ सय २६ जना नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ भने ६ दर्जनभन्दा बढी नेता कार्यकर्ता सत्तारुढ नेकपा र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब दुई दर्जन जति नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् ।
आइतबार मात्रै नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आइतबार जारी गरेको विज्ञप्तिमार्फत राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् । उनी केही दिनअघि मात्रै सत्तारुढ दल नेकपामा प्रवेश गरेका थिए ।
केही दिनअघि नेपाल बन्दको पूर्वतयारीका क्रममा उपत्यकामै आफ्ना सैन्य कमान्डरसहितका नेताको मृत्यु भएपछि र तयारीकै क्रममा प्रेसर कुकरसहित केही नेता कार्यकर्ता पक्राउ परेपछि नेकपाले मध्यकमान्ड नेतृत्वको जिम्मेवारीसमेत प्रकाण्डलाई नै दिएको छ । त्यसअघि मध्यकमान्डको नेतृत्व हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सम्हालेका थिए । प्रहरीले उनलाई समेत पक्राउ गरिसकेको छ ।
गत आइतबार सुकेधारा र अनामनगरमा भएका शृंखलाबद्ध बम विस्फोटमा चारजनाको मृत्यु भएको थियो भने सातजना नेता कार्यकर्ता घाइते भएका थिए । यस्तै, कोटेश्वरबाट प्रेसर कुकर र विभिन्न सामग्रीसहित ६ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । प्रतिबन्धयता पक्राउ परेकामध्ये ७१ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ८७ जनामाथि अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
विप्लवविरुद्ध यतिबेला सरकारी संयन्त्रसमेत आक्रामक रूपमा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले चन्द नेतृत्वको नेकपालाई अमानवीय शक्ति भन्दै आइरहेका छन् भने विध्वंशात्मक र हिंसात्मक बाटो लिनेलाई सरकारले छुट नदिने बताउँदै आएका छन् । हाल विप्लव समूहको काठमाडौं उपत्यकाको जिम्मेवारी माइला लामाले सम्हाल्दै आएका छन् भने काठमाडौं इन्चार्जमा भृकुटी उपनामले चिनिने धिरिन्द्रा उपाध्याय छिन् । काठमाडौंमा हुने सबै योजना लामाकै निर्देशनमा हुने गरेको प्रहरीले बताउँदै आएको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।