राजनीति

किन चर्किदै छ विप्लव नेकपामा अन्तर्विरोध?

किन चर्किदै छ विप्लव नेकपामा अन्तर्विरोध?

काठमाडौं । नेपाल बन्द आह्वान सफल पार्न बम विस्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाभित्र नयाँ ‘सेक्टर काण्ड’ का रूपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम, सामान्य युद्धको नियमसमेत थाहा नभएका कार्यकर्तालाई विस्फोट गराउन निर्देशन दिँदा ठूलो क्षति पुगेको चन्द समूहको निष्कर्ष छ । ‘यो कारबाही अपरिपक्व हो । यो नयाँ ‘सेक्टर काण्ड’ जस्तो भएको छ,’ एक स्थायी समिति सदस्यले भने । २०४४ मा तत्कालीन नेकपा मसालका महासचिव मोहन वैद्यको नेतृत्वमा उपत्यकाका ४र५ प्रहरी सेक्टरमा भएको दोहोरो भिडन्तमा प्रहरी र पार्टी कार्यकर्ता घाइते भएका थिए । पञ्चायती व्यवस्थामा उपत्यकामा प्रहरीमाथि हमला गर्दा कार्यकर्ता पक्राउ परेका थिए । त्यसलाई कम्युनिस्टहरू क्रान्ति गर्दाको असफल प्रयास (सेक्टर काण्ड) का रूपमा चित्रण गर्छन् ।

 

त्यसको ६ महिनापछि महासचिव वैद्यले पदबाट राजीनामा गरी पुष्पकमल दाहाललाई जिम्मेवारी दिएका थिए । त्यही घटनाको जस्तो अवस्था अहिले देखा परेको भन्दै चन्द समूहभित्र अन्तरविरोधसमेत चर्किएको छ । युद्ध गरेर जित्ने अवस्था नरहेको भन्दै एकथरी नेता र कार्यकर्ता वार्तामा जानुपर्ने पक्षमा छन् । गत साता बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा विस्फोटका लागि सामग्री तयार पार्दा चार कार्यकर्ताको मृत्यु भएको थियो । एक जना घाइते ओम अस्पतालको आईसीयूमा जीवनमरणको दोसाँधमा छन् । उनको अहिलेसम्म ठेगाना पत्ता लागेको छैन । परिवार सदस्य सम्पर्कमा आउन सकेका छैनन् ।

 

‘सैन्य तालिमसमेत नदिएका कार्यकर्तामार्फत बम विस्फोट गराउँदा ठूलो क्षति भयो,’ ती स्थायी समिति सदस्यले भने, ‘मध्य कमान्ड इन्चार्जले मुख्य पार्टी नेतृत्वलाई स्मार्ट देखाउन जथाभावी कार्यकर्ता पठाए, त्यो नै ठूलो गल्ती थियो, त्यसले गर्दा क्षति भयो, यस्तो क्षति त सेक्टर काण्डमा पनि भएको थिएन ।’ सामान्य बन्दबाहेक अन्य मानवीय क्षति गर्ने पार्टीको नीति नभएको ती सदस्यले बताए । हाल मध्य कमान्डको नेतृत्वको जिम्मा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दिइएको छ । गत पुसमा हेटौंडाबाट उपत्यका आउँदा छैमलेबाट पक्राउ परेपछि करिब एक महिनापछि उनलाई सरकारले रिहा गरेको थियो ।

 

रिहाइका लागि आफ्नै पार्टी सम्बद्ध विद्यार्थी नेता चिरिञ्जीवी ढकाललाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमार्फत सरकारसँग सम्पर्क सूत्रका रूपमा पठाएको आरोपसमेत उनीमाथि लागेको थियो । त्यसले पनि पार्टीमा विवाद चुलिएको थियो । यसरी सूचना चुहाएको, पार्टीको आधिकारिक लाइनविरुद्ध सरकारसँग वार्ता गर्न मौखिक सहमति गरेको आरोपपछि स्थायी कमिटी बैठकले विश्वकर्मालाई मध्य कमान्ड इन्चार्जबाट हटाएको थियो । करिब डेढ महिनाको निलम्बनपछि स्थायी कमिटी बैठकमा आत्मालोचना गरेपछि पुनः विश्वकर्मालाई मध्य कमान्डको जिम्मेवारी दिइएको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

विप्लव सेक्टर काण्ड

विशेष