Breaking News

मोबाइल फोनसमेत नभएका मन्त्री

मोबाइल फोनसमेत नभएका मन्त्री

स्थान राष्ट्रपति भवन । भीभीआईपी सहभागी विशिष्ट कार्यक्रम । भारतीय जनता पार्टीले बहुमत पाएपछि अघिल्लो हप्ता सम्पन्न नरेन्द्र मोदी नेतृत्व सरकारको सपथ ग्रहण समारोहको दृश्य हो यो । भनिन्छ– यो चुनावमा झण्डै ४० प्रतिशत भोट मोदीको क्रेजबाट भाजपा प्राप्त गरेको थियो । तर, त्यस दिन मोदीको नभएर अर्कै एक व्यक्तिको नाम लिएपछि तालीको गडगडाहट आयो । त्यो माहोल ल्याउने व्यक्ति थिए– प्रताप सारंगी । 


उनी साद्गी जीवनका प्रतिरुप हुन् । प्रतिस्पर्धीलाई १२ हजार भोटले पछि पारेर उडिसाबाट चुनाव जितेका सारंगी नैतिक राजनीतिका सगरमाथा हुन् । मोदी मन्त्रिमण्डलका राज्यमन्त्री सारंगी सत्य र निष्ठाका यस्ता प्रतिमूर्ति हुन, जुन व्यक्तित्वको अगाडि हरेकको शिर निहुरिन्छ । त्यागको राजनीति गर्ने भारतीय प्रधानमन्त्री मोदीसमेत उनका अगाडि कृत कृत हुने गरेका छन् । 


सामाजिक सञ्जालमा उनी ‘उडिसाका मोदी’ भनेर प्रसिद्ध छन् । उनकै कारण उडिसामा भाजपा अभूतपूर्व विजय पाउन सफल रह्यो । सारंगी झण्डाको नभएर सेवाको राजनीति गर्छन् । उनका हरेक पदचापमा साद्गीपनको रंग देखिन्छ । चाणक्यजस्तै छन उनी, जो कुटीमा बसेर समृद्ध भारत वर्षको कल्पना गर्दथे । चुहिने घरको छानोमा बस्छन् । आफैंले पकाएको सादा सामल तुमलमा पेट भर्छन् । ग्राम पञ्चायतमा रहेको हाते पम्पबाट पानी निकालेर खुल्ला आकासमुनि नुहाउँछन् । न श्रृंगार, न लुगाका सोखी बस सेवा, सेवा अनि सेवानै जीवनको गन्तव्य बनाएका यी ती साधक हुन, जसको यातायात साधन भनेकै साइकल हो । साइकलकै बुँतामा सम्पूर्ण निर्वाचन क्षेत्र घुमेर भोट मागे । 


उडिसाको निलगिरी एक गरिब परिवारमा सारंगीको आजभन्दा ६५ वर्षअघि जन्म भएको थियो । स्नातक पढेका छन् । विवाह भएको छैन् । उनको रुचि साधु बन्ने थियो । धेरै पटक यसका लागि ध्यानमा सहभागी पनि भए । तर उनीसंगै आमा पनि भएकाले अग्रज गुरुहरुले आमाको सेवा गर्न भनेपछि उनको उद्देश्यले युटर्न लियो । यी राजनीतिज्ञका जीवनमा धेरै उतार चढाव आए । २००४ देखि २००९ सम्म  उनी विधायक बने । २०१४ को चुनावमा अप्रत्याशित पराजय हात लाग्यो । यो हारलाई जित ठानेर मानव सेवालाई तीब्र बनाउँदै लगे । योगदानको कदर गर्दै पार्टी टिकट दियो ।

 

यो पटक अभूतपूर्व भोट ल्याएर जित मात्र हात पारेनन, मन्त्री नै बनाइए । हाम्रो परिवेशमा मन्त्री बन्न र बनाउन ठूलो चाकरी धन्दा चल्ने गर्छ । सारंगीको हकमा उल्टो भयो । जब प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले राज्यमन्त्री बनाउने निधो गरे, उनलाई तारन्तार खबर गरियो । आश्चर्य, उनीसंग मोबाइल नै थिएन । पार्टी कार्यालयमा सम्पर्क गरियो । अहँ, खुट खबर भएन । वास्तवमा सारंगी स्वयं मन्त्री बन्न इच्छुक थिएनन् । मन्त्री बन्न नपरोस् भनेर छलिएर हिँडेका थिए । धेरै समयको प्रयासपछि प्रधानमन्त्री मोदी र अध्यक्ष अमित शाह उनलाई मन्त्री बनाउने विषयमा विश्वास लिन सफल भए । 


प्रताप सारंगी र मोदी पार्टीको रसायन मात्र नभएर व्यक्तिगत प्रकृति पनि मेल खान्छ । मोदीजस्तै कलिलो उमेरदेखि नै उनी आध्यात्मिक थिए । साधु बन्नकै लागि धेरैपल्ट रामकृष्ण मठ धाए । अन्ततः मातृसेवा र जन्मभूमि सेवामा समर्पित भए । शिक्षा, स्वास्थ्यका क्षेत्रमा उनले उल्लेख्य काम गरेका छन् । बालासोर र मयूरभञ्जको आदिवासी इलाकामा उनले थुप्रै स्कुल खोलेका छन् ।

 
उडिसा गएका बेला लाखौंको भीडमा सारंगीलाई देखाएर मोदीले भनेका थिए– ‘यिनी हाम्रो देशका होनाहार र सुदृढ सैनिक हुन् ।’ वास्तवमा भारतको संसदमा सारंगी सर्वाधिक कमजोर आर्थिक अवस्था भएका जनप्रतिनिधि मानिन्छन् । कतिसम्म भने अहिलेको जमानामा सबैको अधिनमा रहने मोबाइलसमेत उनीसंग छैन् । उनको श्रीसम्पत्ति भनेकै साइकल हो । परिवारको अर्को सदस्यकी रुपमा रहेकी आमाको गत वर्ष देहान्त भएपछि हाल उनी फगत एक्लो भएका छन् । 


राजनीतिलाई पैसाले किनेको विश्व राजनीतिमा सारंगीको इमानले पैसाको गढ ध्वस्त बनाएको छ । सारंगीको राजनीतिक डक्टिनले भारतका राजनीतिक पण्डितहरु यतिबेला हायलकायल बनेका छन् । करोड खर्चिएर अर्ब हात पार्ने राजनीतिक संस्कार विपरीत उनी एउटा इमान र नैतिकताका उच्च हस्ताक्षर प्रमाणित हुन पुगेका छन् । सारंगी सोसल मिडियामा भाइरल छन् । तर उनी सामाजिक सञ्जालको कोर्सबाट धेरै टाढा छन् । मन्त्री भएपछि सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा उनी भन्छन– ‘जसले मलाई भोट दिए अनि चुनावताका जो मेरो विपक्षमा थिए, म ती सबैको मन्त्री हुँ ।  सबैको सद्भावका साथ मोदीमन्त्र आत्मसात गरी काम गर्छु । मलाई विश्वास छ– म सवैको मन जित्न सफल हुनेछु ।’


उनको गरिबीबारे धेरै बहस हुन थालेपछि प्रतिकार गर्दै  भनेका थिए– ‘जो देवतुल्य कार्यकर्ताको सहयोगमा सांसद, मन्त्री हुन सकें भने म कसरी गरिब हुन सक्छु ? सामाजिक सञ्जालमा मप्रति सहानुभूति राखेर जति प्रचार प्रसार भइरहेका छन् । म इमान्दारपूर्वक भन्छु– मलाई यसबारे जानकारी छैन् । मलाई चलाउने विधि नै थाहा छैन् । जे भइरहेको छ, मैले त्यसलाई श्रद्धा सम्झिएको छु ।’ 
 

भीभीआईपी सारंगी

विशेष