रोजगार

लोकसेवामा परे एकै दिन १५ हजार आवेदन

लोकसेवामा परे एकै दिन १५ हजार आवेदन

काठमाडौं : लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिन मात्रै झन्डै १५ हजारले आवेदन दर्ता गराएका छन् । शनिबारसम्ममा झन्डै ६५ हजारको हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक रहेको छ । शुक्रबारको तथ्यांकअनुसार झन्डै ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो ।

आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको छ । लोकसेवा आयोगको शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १६ हजार ४ सय ९, प्रदेश २ मा १० हजार ४ सय ५१ र प्रदेश ३ मा ८ हजार ७ सय ९५ आवेदन परेको छ । यसैगरी, प्रदेश ४ मा ५ हजार ७ सय ७४, प्रदेश ५ मा १० हजार १ सय १९, प्रदेश ६ मा ३ हजार ८ सय ३५ र प्रदेश ७ मा ७ हजार ४ सय ८५ जना गरी कुल ६२ हजार ८ सय ६८ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ ।

आवेदकहरूले राजनीतिक दल तथा सभासदहरूले चर्को मात्र बोल्ने तर व्यवहारमा काम नगर्ने एवं आवश्यकताअनुसार आफैंले निर्णय गरेको संविधानलाई समेत गलत व्याख्या गर्ने गर्दा कैयौंको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको बताएका छन् ।

पोखरामा महिला विकास अधिकृतको तयारी गरिरहेकी सुभद्रा भट्ट भन्छिन्, ‘नेताहरूले सरकार र संवैधानिक निकायको वास्तविक परीक्षण गरी दूधको दूध र पानीको पानी भन्न सक्नुपर्ने बताइन् । साथै समावेशी मात्रभन्दा पनि योग्यता र क्षमतालाई आधार बनाउनुपर्ने उनको भनाइ छ ।

काभ्रेमा शाखा अधिकृतको तयारी गरिरहेका अर्का आवेदक रेशम लामा राजनीतिक दलहरूले विरोध मात्रै गर्ने र आफ्नो भूमिका प्रभावकारी नबनाउने हो भने योग्य र प्रतिभावानले अवसर पाउने अवस्था नरहने बताउँछन् ।  आयोग स्रोतका अनुसार आयोग जुनसुकै हालतमा पनि परीक्षा सञ्चालन गर्ने तयारीमा छ ।

आयोगले विज्ञापन रोकिने र कार्यतालिका संशोधन हुने हल्लाको पछि नलाग्न अनुरोध गर्दै परीक्षाको तयारी गर्न सबै आवेदकलाई सुझाव दिएको छ । देशभरका स्थानीय तहले कर्मचारी अभावमा कार्यसम्पादनमा असर परेको तथा जनअपेक्षाअनुरूप काम गर्न समस्या रहेको गुनासो गर्दै आएका छन् । देशभरका स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरूले राजधानीसँगको कुराकानीमा कर्मचारी भर्नामा देखिएको अन्योलले स्थानीय तहलाई थप समस्यामा पार्ने बताउँदै आएका छन् ।

लोकसेवा

विशेष