अपराध गर्ने, अपराधबोध नगर्नेहरु
अपराध गर्नु र अपराधबोध हुनु एउटै होइन । प्रत्येक क्रियाको प्रतिक्रिया व्यक्तिमा आआफ्नो व्यक्तित्वअनुसार हुन्छ । यो तथ्य समाजका कर्णधार र सञ्चालकहरुले नबुझ्दा बट्रेण्ड रसेलले राजनीतिलाई मूर्खहरुको अन्तिम आश्रयस्थल भनेका थिए । जेहोस् मानवीय स्वभावको भिन्नतालाई समन्वय र द्वन्द्वमार्फत समाधान खोज्नु मूर्खता हो ।
यसै प्रसंगमा जापानको हिरोशिमा विनाश लीला हाम्रो सामु उदाहरण छ । दोस्रो विश्वयुद्धताका हिरोसिमामा अणुबम खसाउने व्यक्ति को थियो भन्ने धेरैपछि सम्म पनि अमेरिकीलाई थाहा थिएन । तर पत्रकारको खोजीबाट उ निरपेक्ष रहन सकेन । ती थिए– पाइलट कमाण्डर पाउल टिवेट्स ।
दोस्रो विश्वयुद्ध भएको धेरैपछि उनले मुख खोलेका थिए । यत्रो ठूलो मानव हत्याले तपाईंलाई विचलित पारेन ? के तपाईंलाईं अझै पनि अपराधबोध भएको छैन ? जस्ता पत्रकार जिज्ञासामा उनले शान्तपूर्वक भने– ‘मैले आदेशको पालना गरें । मैले आफ्नो कर्तव्य पूरा गरें । मैले आफूलाई अपराधी किन ठानौं ?’
आदेश पालना गरेबापत उनले ‘विशिष्ट उडान क्रस’ तक्मा पाए । उनको कर्तव्य पालनाले एउटा मानव सभ्यतामा कस्तो असर गरेको थियो भन्ने संसारलाई थाहा छ । बम खस्नासाथ ८० हजार मानिसको तत्काल एक चिहान भएको थियो । हिरोशिमाका ६० प्रतिशत भवन ध्वस्त भए । बम विष्फोटको विकिरणबाट अझै पनि जापान मुक्त हुन सकेको छैन् । यो अभूतपूर्व विनाशलीला थियो, जसको स्मरणले आज पर्यन्त मानवजाति आतंकित छ । तर पनि कर्णेल टिवेट्सले कुनै प्रकारको अपराधबोध नगरिकनै शान्तिपूर्वक आफ्नो जीवन विताए ।
अनि यसको ठीक विपरित प्रतिक्रिया भयो, क्लाड एथर्लीमा । उनी हिरोशिमामा टिवेट्सले अणुबम खसाउँदा अमेरिकी वायुसेनाको विमानमा त्यहाँदेखि २ सय माईल टाढा थिए । उनी अणुबम खसाउने कार्यको निरीक्षणका लागि खटिएका थिए । उनले विमानको रेडियो सञ्चार माध्यमबाट टिवेट्सलाई सोधे– ‘काम समाप्त भयो ?’ टिवेट्सले गम्भीर स्वरमा जवाफ दिए– ‘समाप्त ।’ यो सुनेपछि क्लार्डले ‘ओके, ओभर एण्ड अल’ भनेर आफ्नो निरीक्षण जहाज फर्काए ।
जब एथर्लीले ८० हजार मानिस मारिएको खबर सुने त्यसपछि उनी स्तब्ध भए । त्यो विनासलीलाले उनी कति विचलित भए भने त्यो पाशविक र निर्मम कार्य गर्ने दोषी आफूलाई नै ठान्न थाले । हिरोशिमा नरसंहारको अभिभारादेखि आफू मुक्त छैन भन्ने अनुभूतिले पिरोलिन र छटपटाउन थाले । शान्तिपूर्वक बस्ने क्षमता कम हुँदै गयो । उनीभित्र बैचनी बढ्दै गयो । अपराधबोधको पीडाले धेरै समयसम्म जागिर खान सकेनन् । अन्तत : एथर्लीले जागिरबाट स्वेच्छिक अवकाश लिए ।
नयाँ नयाँ ठाउँमा घुमफिर गरेर चित्त शान्ति हुन्छ कि भनेर लाख प्रयाश गरे । जब उनी यो काममा लाग्थे– उनका आँखा अगाडि ८० हजार मानिसको चिहान झलझली आउँथ्यो । हिरोशिमाको नरसंहार उनले देख्न पाएका त होइनन तर पनि उनको कल्पनामा बालक, बृद्ध, युवाको मृत्यु सजीव भएर आँखामा टाँसिन्थ्यो । अरु त अरु आफ्नी पत्नीसंग पनि केही बोल्दैनथे । उनको मस्तिष्कमा छट्पटिएर मरेकाहरुको दृश्य सल्बलाउँथ्यो । आफूभित्रको पीडाले उनी मानसिक सन्तुलन गुमाउँदै जान थाले । उनले एकदिन प्रायश्चित गर्दै मर्ने मनशाय राखेर ब्लेडले आफ्नो हातको मूल नसा छिनाए । यो दृश्य देखेकी श्रीमतीले तत्काल उपचार गराइन । जसले गर्दा मर्न पाएनन । यो घटनापछि केही समय शान्त रहे ।
अझै पनि आफूले आफैंलाई माफ गर्न नसकेको पीडा बढ्दै गयो । उनी नियतवस चोरी, डकैतीमा संलग्न हुन थाले । आर्थिक दृष्टिले सवल उनलाई यस्ता दुष्कर्म गर्न जरुरी थिएन । तर दण्ड, सजाय पाउनका लागि उनले यी सवै काम गरेका थिए । उनी सजिलै प्रहरी कब्जामा परे । प्रहरी जाँचबुझबाट उनी मानसिक रुपमा विक्षिप्त ठहर्याइए । उनलाई मनोचिकित्सालयमा उपचारका लागि पठाइयो । एथर्लीको जिद्दी थियो– जेलमा कोचियोस् । धेरै जिद्दिपछि जेल त होइन, पागलखाना राखियो । पागलखानाको बसाई र उपचारपश्चात अलि ठीक भएपछि उनलाई घर पठाइयो । केही दिन शान्तिपूर्वक विते । लाग्यो, अब एथर्ली सहज र सामान्य हुने छन् । अहँ, परिणामा उल्टो हुँदै गयो । हिरोशिमाको क्षति जति थियो, अपराधबोधको आकार पनि उसरी नै बढाउँदै लगे । त्यो जघन्य पाप उनको आत्मामा दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै थियो ।
जेल नगई नछोड्ने उनीभित्रको अहं बढ्दै जाँदा बजारका पसलमा चोरी गर्न थाले । सरकारी अधिकारीहरु कायल भएर यो पल्ट जेल कोचिदिए । जेल परेपछि यति सजाय उनलाई पर्याप्त लागेन । ८० हजारमा मानिस मारेको अपराधबोध सानो सजायले हुँदैन भन्ने उनको तर्क थियो । मनोचिकित्सकहरुको लगातार बैठक बस्यो । उनलाई थेरापी दिइयो, कुनै उपायले छोएन । मनोचिकित्सकहरुको निष्कर्ष थियो– अब एथर्ली आजीवन सामान्य जीवन विताउन सक्षम हुने छैनन् । यद्यपि अणुबम उनले खसालेनन, तर मानवीय संवेदनशीलताले गर्दा त्यस विनाशको सहभागीका नाताले उनी विक्षिप्त भए ।
यहाँनिर एउटा गम्भीर प्रश्न के खडा भएको छ भने अपराध गर्ने र अपराधमा किन्चित मात्र सहभागी हुने दुवै अपराधबोध र अबोधत्वको यत्रो ठूलो खाडल किन ? के आदेश पालनलाई कर्तव्य ठान्ने प्रशिक्षणले एथर्लीको मानसिक संवेदनालाई कुण्ठित पार्न नसकेको हो ? के टिवेट्सको कर्तव्यपालना अन्तर्गत विवेकहीनता पनि पर्दछ ? के विवेकहीनताले पनि राजनीतिको सम्मान पाउँछ ? यी दुवैमा सामान्य को हो, असामान्य को हो ? पेचिलो प्रश्न खडा भएको छ । निसन्देह अपराधको सम्बन्ध विचारसंग छ । अनि अपराधको सम्बन्ध विवेकसंग । अपराधबोध नहुने व्यक्ति विचारवान, सिद्धान्तनिष्ठ हुनसक्छ तर विवेकशील हुन सक्दैन । हिटलर पनि विचारवान र सिद्धान्तनिष्ठ थियो ।