राजनीति

मन्त्रीहरूबीच नै चुलिँदै मतभेद, कतिसँग त बोलचालसमेत हुँनै छाड्यो

मन्त्रीहरूबीच नै चुलिँदै मतभेद, कतिसँग त बोलचालसमेत हुँनै छाड्यो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दासमेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन ।

दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् । मन्त्रीहरूको कामको मूल्याङ्कन गर्नका लागि प्रधानमन्त्री कार्यालयले नम्बर दिने मापदण्ड पनि बनाएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकताभन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्री बताउँछन् ।

उनका अनुसार मन्त्रीहरूको बीचमा आपसी समन्वय भएको भए राम्रो परिणाम दिन सकिन्थ्यो, तर सरकार गठन भएदेखि नै अहिलेसम्म सामूहिक भावना देखिएको छैन । अन्तर–मन्त्रालयबीच समन्वय नहुँदा सरकारले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मन्त्रालय मातहत रहेका निकायलाई आफू मातहत ल्याएकाले पनि काम गर्न कठिनाइ भएको मन्त्रीहरूको गुनासो छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार मन्त्रीहरूले आफ्नो लक्ष्य र कार्यक्रम सार्वजनिक गरेका थिए । तर त्यसको मूल्याङकन र अनुगमन भने फितलो देखिएको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार कतिपय मन्त्रीहरूको बीचमा त बोलचाल समेत नहुने अवस्था छ । प्रधानमन्त्री ओलीले अगाडि सारेको नीति र कार्यक्रमअनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्ष नेकपाले निकालेको छ । यो खबर आजको नेपाल समचारपत्र दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

विशेष