आधार वर्ष सकियो, ओलीले बदल्दै छन् गेयर
काठमाडौं । सरकारले साउन पहिलो साताबाट आर्थिक वर्ष २०७६/७७ को नयाँ कार्ययोजनासहित काम सुरु गर्ने भएको छ। अघिल्लो वर्षलाई कानुन र संरचना निर्माण गर्ने समृद्धिको आधार वर्ष तथा आजबाट सुरु भएको नयाँ आर्थिक वर्षबाट समृद्धिको यात्राका लागि सरकारले गेयर बदल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै आएका छन्। त्यसैअनुसार नै ओलीले २४ वटै मन्त्रालयलाई प्राथमिकताका पुराना योजनालाई तीव्रता दिएर समयभित्रै सम्पन्न गर्ने र थप नयाँ योजनाहरू अघि बढाउने तयारसहित कार्ययोजना पेस गर्न निर्देशन दिएको बनाइएको छ।
गत २६ र २७ असारमा अघिल्लो आर्थिक वर्षको समीक्षा सकिएकाले एक हप्ताभित्र नयाँ कार्ययोजनामा छलफल गरी पारित गर्ने सरकारको तयारी छ। ती कार्ययोजनालाई प्रधानमन्त्रीले सिधै एप्समार्फत नियमित रुपमा अनुगमन र मूल्यांकन गर्दै आएका छन्। राष्ट्र गौरवका आयोजनालाई सिधै प्रधानमन्त्री कार्यालबाट भिडियो कन्फरेन्समार्फत निर्देशन दिन सकिनेगरी एक्सन रुम पनि सञ्चालन आइसकेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले २४ वटै मन्त्रालयले साउन पहिलो साताभित्र नयाँ कार्ययोजना पेस गर्नेगरी काम गरिरहेको बताए। यो समाचार आजको बुधबार साप्ताहिकबाट लिइएको हो।
केपी शर्मा ओली