कानुन मिचेर सभामुखलाई २८ सुरक्षाकर्मी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ। तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ।
सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएका छन्।
संघीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन २०७३ ले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई १२/१२ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरेको छ। दुवै पदाधिकारीलाई १० जना सिपाही, १ जना अंगरक्षक र १ जना विल्लादार गार्ड गरी १२ जना सुरक्षाकर्मी पाउने व्यवस्था ऐनले गरेको छ।
सभामुख महराका लागि नेपाली सेनाका सहसेनानी १ जना, जमदार १ जना, हुद्दा २ जना, प्युठ ६ जना, अमल्दार १ जना, सिपाही ६ जना गरी सैनिक तर्फ १७ जना खटिएका छन्। उनका लागि प्रहरीतर्फ प्रहरी नायब निरीक्षक ७ जना, प्रहरी हवल्दार १ जना, जवान ३ जना गरी ११ जना खटिएका छन्। सभामुखका लागि सेना र प्रहरी गरी कुल २८ जना सुरक्षाकर्मी अगुवा पछुवा तथा क्वाटरमा खटिएका हुन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
कृष्णबहादुर महरा गणेशप्रसाद तिमिल्सिना