‘डोरमणिले डोरीमा बाँधिएर बस्ने कि झुन्डिएर मर्ने उहाँको कुरा हो’ (भिडियो अन्तर्वार्तासहित)
केशव स्थापित, सांसद प्रदेश ३
प्रदेश ३ को सरकार परिवर्तन हुन लागेको हो ?
यसको पहल शुरु भएको छ । पहल गर्ने मुख्य मान्छे मै हो । नेकपाभित्र केही खेमाहरु छन् । पूर्वमाआवादीहरुसँग सल्लाह भएको छ । हुनुपर्ने तहबाट छलफल भइरहेको छ । म देखिएर पहल गरिरहेको छु । हामीभित्र माधव नेपालको खेमा पनि छ । माधव नेपालभित्र २२ जना एकढीक्का छन् । मलाई मानिसहरुले ओली खेमाको भन्छन् । केपी ओलीले मलाई बोलाउनु भयो । म गएँ । उहाँले मलाई के चाहियो ? भनेर सोध्नु भयो । मैले, ‘आशिर्वाद चाहियो भनेँ ।’ उहाँले एउटा सानो समारोह जस्तो बनाएर आशिर्वाद दिनुभयो ।
त्यो बेला राजधानी कहाँ ? भन्ने प्रश्न पनि उठ्यो । मैले हेटौडा नगरपालिकादेखि रत्ननगरसम्म कुरा गरेँ । नामाकरणका विषयमा मेरो र प्रधानमन्त्रीबीच कुराकानी भयो । उहाँले बागमती उपयुक्त हुन्छ कि ? भन्ने जिज्ञासा राख्नुभयो । मैले अर्को भनेँ । प्रधानमन्त्रीले नामाकरण र उपत्यकाका सवालमा जुन तहबाट काम हुने हो त्यहीँबाट आउनुपर्छ भन्नु भएको छ ।
यी सबै कुराकानीहरुबाट अब परिस्थिति बदलिने अवस्था छ । अब डोरमणिजीले आज, भरे भोलिसम्ममा कम्फर्टेबल जोनमा बसेर राजीनामा दिनु उपयुक्त हुन्छ । म त ध्यानी पनि हो । यसकारण म घोचपेच वा दबाब दिएर बोल्न चाहन्न ।
तपाईले १० दिन अघि नै आउँदो शुक्रबारभित्र सरकार परिवर्तनको खाका देखिन्छ भन्नुभएको थियो । भएन त ?
मैले भनेको हो । शुक्रबार पनि भनेकै हो । तर त्यो शुक्रबार भएन । अर्को, अर्को गर्दै एक दुई शुक्रबार गए । अब प्रधानमन्त्रीले नै वा भनौं नेतृत्वले नै भनिसकेपछि परिवर्तन भइहाल्छ । प्रधानमन्त्री अलि व्यस्त पनि हुनुभयो । उहाँसँग मेरो निकटता पहिलेदेखि नै हो । म प्रधानमन्त्रीलाई भेट्न जाँदा परिवारसहित जान्छु । उहाँसँग भेट भएपछि उहाँका जेलजीवनदेखि घरायसी कुरा पनि हुन्छ । त्यस्तो हुँदा फेरि उहाँ राति पनि काम गर्ने मान्छे । त्यो भएकोले उहाँले नै पाँचसात दिन रोकौं पनि भन्नुभएको हो ।
हाम्रो पार्टी भनेको नेकपा हो । यो नेकपामा शुद्ध प्रजातिको मात्रै मानिसहरु हुनुपर्नेमा अर्को प्रजातिका पनि छन् । नेकपा खासमा (‘नेय’ प्लस कप्पाकप) अर्थात कपाकप्पा खानेहरु छन् । अर्थात ललितानिवास खाने, घूस खाने, पदीय दूरुपयोग गर्ने, हाम्रा चेलीलाई म्यानपावर खोलेर अफ्रिका पुर्याउने, आँशु खाने, किड्नी, रगत खानेहरु पनि छन् । त्यसैले त्यस्ता मान्छेले चलखेल गर्छन् ।
प्रधानमन्त्रीले यति ठूलो महाअभियान लिएर हिँड्नु भएको छ । यस्तो अभियान सफल होला कि भन्ने चिन्ता उनीहरुलाई हुन्छ । प्रधानमन्त्रीको अभियानलाई सार्थकता दिन केशव स्थापित सहायक हुन्छ भन्ने उनीहरुले बुझेका छन् । यहि भएर मलाई रोक्न खोज्नेहरु पनि छन् ।
अर्को कुरा प्रदेश ३ का डोरमणिको मणि भनेको चाहिँ म थिएँ । म निस्केपछि अब डोर अर्थात डोरीमात्रै बाँकी रहेको छ । अब त्यो डोरीमा बाँधिएर बस्ने कि झुण्डेर मर्ने उहाँको कुरा हो ।
डोरमणि पौडेललाई के भनेर पदबाट हटाउने भन्नुस् त । काम गर्न नसक्ने देशको उहाँमात्रै एक्लो मुख्यमन्त्री हो र ?
उहाँलाई असफल बनाउन म किन शक्ति खर्च गरौं । म त असफल भन्दिनँ । शक्ति भनेको प्राप्त गर्ने हो । मेरो अर्जुनदृष्टि भनेको विकास हो । जस्तो कि अहिले हेटौंडा काठमाडौं सुरुङमार्गको कुरा छ नी यसमा बदलाव गर्नुपर्छ के । थानकोटभन्दा तल गएपछि नौबीसेतिरबाट सुरुङ खनेर सात किलोमिटर सुरुङ खनौं त्यसपछि त्यहाँ जग्गाको भाउ आनाकै १० लाख पुग्छ । त्यसका लागि २ खर्ब लाग्ने अनुमान छ । जमिनको मूल्य बढ्यो भने १० खर्ब आय हुन्छ । त्यो कामका लागि चार महिनामा डिपिआर तयार हुन्छ, ६ महिनामा सुरुङ खन्न मिल्छ । सुरुङ–सुरुङबीच कनेक्टिभिटी पनि हुन्छ । त्यसबाट काठमाडौंको जनसंख्या उता मुभ हुन्छ । यसले काठमाडौंलाई पनि हल्का हुन्छ ।
तपाईंका कुरा सुन्दा त रमाइलो लाग्छ । तर हुन नसक्ने काल्पनिक जस्ता पनि लाग्छन् नी ?
आकांक्षा राख्नुपर्छ । दीव्य आकांक्षा हुनुपर्छ । महत्वपूर्ण पनि हुनुपर्छ ।
अघिको प्रशंग टुंग्याई हालौं । तपाईंलाई मुख्यमन्त्री बनाउनकै लागि डोरमणिको सरकार ढाल्नु पर्ने हो र ?
यो प्रश्न नै निषेध भयो । तपाईंले डोरमणिको सरकार भन्नुभयो । यो डोरमणिको सरकार नै होइन । यो कार भए पनि गुड्थ्यो होला । सरकार भनेको सररर् गुड्ने कार हुनुपर्छ । इलाम तिर जाँदा यात्रु् पर्खिरहेका बसका चालकले भन्छन्, ‘चढ्नूस् चढ्नूस् । यो गाडी हिँड्छ ।’ बस हिलो खाल्डोमा फसेर बिस्तारै गुड्न थाल्छ । अनि यात्रुले सोध्छन् । चालकले जवाफ दिन्छन्, ‘यो गाडी हिँड्छ क्या, हिँड्छ ।’ त्यस्तो भयो डोरमणिको सरकार । मेरो अर्जनु दृष्टि प्रदेश ३ मा छ । गण्डकी प्रदेशले ल्याएको इन्जोय जोन पुरानो धारणा हो । प्रदेश १ ले नामाकरण गर्न सकेन भन्ने पनि छाडौं किनभने यतिबेला मेरो ध्यान प्रदेश ३ मा छ ।
तपाईंले राराको पानीमा विश्व पौडी प्रतियोगिता गराउने, अनि विश्वभरका पौडीबाजलाई बोलाउने र त्यहाँ राराकै रैथानेहरुलाई पनि नेपाली खेलाडी बनाएर मिसाउने योजना सुनाउनु भएको थियो । विदेशी खेलाडी राराको चिसो पानीमा डाल्लो पर्छन । नेपालीले रारा पार गरेपछि सबै स्वर्णपदक पाउँछन् भन्नुभयो । त्यो कुराको त ट्रोल बन्यो नी ?
संसारका हिमाल भएका देशहरुलाई पारेर माउन्टेन ओलम्पिक गर्ने भन्छु । एडभेन्चर सम्भव छ । सगरमाथाबाट प्याराग्लाइडिङ सम्भव छ भने अरु के कुरा पनि सम्भव हुन्छ । पर्यटनकै कुरा गरौं न । यहाँ हेलिप्याड बनाउने कुरा हुन्छ । म भन्छु हेलीपोर्ट बनाऔं न । एकै पटक २० वटा हेलिकोप्टर गोसाइकुञ्डका लागि उडाऔं । हामीले वर्षको ५० लाख टुरिस्ट ल्याउने गरी कार्यक्रम बनाउनु पर्छ । द्वारिकाका पीठाधीश शंकराचार्य ल्याएर एक महिना होम गराऔं न । पर्वतको गुप्तेश्वरमा जाऔं न । त्यहाँ मान्छे लैजान सक्यौं भने भएन पर्यटनको विकास ? शंकराचार्यले फर्मान जारी गरे भने कति राम्रो हुन सक्ला ।
तपाईले विद्यासुन्दर शाक्यका लागि सय दिनका १०१ काम लेखेर दिनु भयो । वाचा कसम खुवाउनु भयो । चुनाव जितेर के भयो ?
भो भो भो । यो विद्या सुन्दरको कुरा चाहिँ नगरौं । नाम विद्या अर्थात ज्ञानी । सुन्दर भनेपछि राम्रो । शाक्य त ध्यानमा हुनुहुन्छ । उहाँको कुरा गरेर समय बर्बाद नगरौं । सय दिनको १०१ उत्कृष्ट कार्यक्रम थियो । गरेनन् । उनलाई मेरोतर्फबाट मुक्ति दिन्छु । म त मुख्यमन्त्री भएपछि १ महिनामा उपत्यकाका सबै खाल्डाखुल्डी पुरिदिन्छु । १० वटा रबरका रोलर ल्याएर, विशेष केमिकल युक्त कच्चा पदार्थ हालेर सडक चिल्ला पार्छु ।
नेपालमा एउटा ब्रुमर किन्न डेढ वर्ष लाग्छ, तपाईं कहाँबाट ल्याउनु हुन्छ १० वटा रबर रोलर ?
त्यो ब्रुमर त किन्नै नहुने । त्यसले बलियो सडकको धुलो उठाउँछ ठीकै छ । कमजोर सडकमा लगायो भने त पिच नै उक्काइदिन्छ । ब्रमुरका ब्रूस फलामे हुन्छ । त्यसकारण ब्रुमर आवश्यक नै छैन ।