बालुवाटारको जग्गा कुम्ल्यानेहरु जेल जाने दिन आयो
बहुचर्चित बालुवाटार जग्गा अनियमिततामा संलग्नहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँडै मुद्दा चलाउने भएको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले अब सोही अनुसार मुद्दा चलाउने प्रक्रिया पनि सुरु गर्न लागेको हो ।
सरकारकै एउटा समितिको प्रतिवेदनले बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा शक्तिको दुरुपयोग गरेर किनबेच भएको ठहर गरेपछि सरकारले अनुसन्धानका लागि सो संवैधानिक आयोग र प्रहरीको एउटा विशेष निकायलाई निर्देशन दिएको थियो।
आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार सोधपुछ र बयानपछि अख्तियार आफनो निष्कर्ष निकाल्ने चरणमा पुगिसकेको छ ।
आयोगले असारको दोस्रो साता बयान लिन विभिन्न व्यक्तिहरूको नाममा सार्वजनिक सूचना जारी गरेको थियो । गोरखापत्रमा ८६ जनाको नामसहित सार्वजनिक सूचना जारी गर्दै आयोगले सात दिनभित्र उपस्थित नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो।
उक्त जग्गा बेचबिखनमा सत्ताधारी दलका समेत प्रभावशाली नेताहरू र अन्य उच्च अधिकारीहरूको नाम मुछिएको छ । तर शक्तिशाली नेताहरू नै मुछिएकाले छानबिन निष्पक्ष हुनेमा कैयौंले आशङ्का व्यक्त गरिरहेका छन् । त्यसैले अख्तियारको अनुसन्धान उसको विश्वसनीयताको निम्ति पनि चुनौतीपूर्ण ठानिएको छ ।