बाढीपीडित तराईंवासीको दुःख सरकारका लागि रमिता : देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लाचार भएका कारण तराईमा समस्या बढेको बताएका छन् ।
प्रेस युनियन इटहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले तराईका बाढीपीडितको दुःखमा सरकार तमासा हेरेर बसेको आरोप लगाए । हेलिकप्टरबाट एक फन्को लगाएर राजधानीमा बसी सरकारका मन्त्रीहरुले पीडितहरुको घाउमा नूनचुक छर्किने काम मात्र गरेको उनको आरोप छ ।
मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको भन्दै उनले आक्रोश पोखे । आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको अनुभव उनले सुनाए ।
उनले सरकारले पीडित जनताको घाउमा मलहम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल नगरेको बताए । उनले सरकार नसच्चिए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।