राजनीति

सरकारले वार्ता चाहेनः विप्लव समूह

सरकारले वार्ता चाहेनः विप्लव समूह

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्ता गर्न सरकारले चासो नदिएको आरोप लगाएको छ । सरकार वार्ताको वातावरण बनाउनभन्दा आफ्ना कार्यकर्ता पक्राउ अभियानमा लागेको र नेता–कार्यकर्तालाई प्रलोभनमा पार्न थालेको उसको भनाइ छ । डेढ साताअघि चन्द समूहको स्थायी कमिटी बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो । नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सर्वसाधारणको सुझावका आधारमा वार्ता गर्ने निर्णय लिएको सार्वजनिक गरेको थियो । चन्द समूहका अनुसार वार्ताको निर्णयलगत्तै गत सोमबार चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गर्‍यो ।

 

जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र पार्टी कार्यकर्ता सन्तोष विकलाई पक्राउ गरिएको हो । मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगले बुधबार वार्ताको औचित्य नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् । सरकार वार्ताको वातावरण बन्द गरेर उल्टै दमनको नीतिमा उत्रेको चन्द समूहको आरोप छ ।

 

‘इमानदारीसाथ वार्तामा आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णय गरेका हौं,’ समूहका एक स्थायी कमिटी सदस्यले भने, ‘उल्टै सत्तापक्षका नेताहरू व्यक्तिगत रूपमा हाम्रा नेतासँग डिल गर्न थाले, प्रलोभनका पुलिन्दा देखाउन थाले, सरकारको नियतमाथि शंका पैदा भयो, सरकार पक्षप्रति गम्भीर आशंका उब्जिएको छ ।’ एक वर्षअघि आफूहरू वार्ताबाट भागेको आरोप लगाएपछि यस पटक संवाद गर्ने निष्कर्षमा पुगेको उनले बताए । ‘सरकारको नियत के रहेछ भन्ने छर्लङ्ग भयो, यसअघि पत्र पठाए पनि चन्द समूह भाग्यो भन्ने हल्ला फिँजाएको थियो,’ ती सदस्यले भने, ‘यस पटक खोइ त पत्र पठाएको, औपचारिक रूपमा नआउने, गोप्य रूपमा हाम्रा साथीहरूलाई भेट्नचाहिँ तँछाडमछाड गर्ने, कस्तो रणनीति हो?’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा वार्ता

विशेष