राजनीति

काम शून्य, निर्देशनमाथि निर्देशन दिँदै बस्दै  

काम शून्य, निर्देशनमाथि निर्देशन दिँदै बस्दै  

विराटनगर । प्रदेश नम्बर १ को नाम अझै टुंगो लाग्न सकेको छैन । राजधानीको किचलो पनि बाँकी नै छ । पूँजीगत खर्च गर्न नसकेर थलिने प्रदेशमा १ नम्बर पनि छ । अधिकांश समय प्रदेशका मन्त्रीहरुको गफ हाँकेर, पान पसल, खाजा पसल उद्घाटनमा बित्ने गरेको छ । आशालाग्दा योजना र कार्यान्वयन शून्यसरह छ । 

मुख्यमन्त्री शेरधन राईले एकसाता अघि प्रदेश १ मा भ्रष्टाचार र घूसखोरी चल्दै आएको ‘रहस्य’ पत्ता लगाएका छन् । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घूससहित पक्राउ परेपछि उनले यो ‘रहस्य’ थाहा पाएका हुन् । 

प्रदेश १ मा पहिलोपटक भ्रष्टाचार भएको र त्यो पनि समातिएको झै गरी उनले तत्कालै एक सातापछि आकस्मिक बैठक डाके र भने, ‘घूसप्रकरणमा कुनै पनि कर्मचारी पक्राउ परे भने बुझे हुन्छ उसको भविष्य सकियो ।’ 

मुख्यमन्त्री राईले यस्तो चेतावनी त दिए, तर प्रमाणसहित गिरफ्तार भएपछि सरकारी जागिरको भविष्य सकिन्छ भन्ने आमकर्मचारीलाई पहिलेदेखि नै थाहा हुने कुरा हो । 
राईले हालसालै मालदार अड्डाका रुपमा परिचित यातायात कार्यालय इटहरीका प्रमुख भिम गौतम र पूर्वाधार मन्त्रालयका सचिव मनोज घिमिरेलाई सरुवा गरेका छन् । 

सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको आकस्मिक बैठकमा उनले भने, ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्नु नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’

‘यदि कर्मचारी पक्राउले निरन्तरता पाएमा यो प्रदेशको अवस्था कस्तो होला ? त्यसैले समयमै सचेत गराउन यो (बैठक) डाकेको छु भन्दै उनले सबै राष्ट्र सेवक स्वच्छ भावना लिएर अघि बढ्न आग्रह गरेका छन् ।

‘भ्रष्टाचारविरुद्ध सहनशीलत  अपनाउछु’ भनेका मुख्यमन्त्री राईले बैठकमा भने, ‘अरु कर्मचारी पनि पक्राउ पर्ने सम्भावना छ । सचेत हुन निर्देशन दिन्छु ।’
 

विशेष