राजनीति

पार्टीभित्रका कमजोरी सच्याउनुपर्छ : प्रचण्ड

पार्टीभित्रका कमजोरी सच्याउनुपर्छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले  पार्टीभित्रका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनुभएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको जानकारी दिनुभयो । अब केही  कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको उहाँको भनाइ छ ।


एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले कार्यकर्ता र जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउने प्रष्ट पार्नुभयो ।अध्यक्ष दाहालले पार्टी र सरकार दुवैमा कमी कमजोरी रहेको भन्दै सच्याएर अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताउनुभयो । 


पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफूहरु आईपुगेको प्रचण्डले स्पष्ट पार्नुभयो । 
बरिष्ठ नेता तथा पुष्पपलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले एकपक्षीय ढंगले अगाडि बढे कहिँ नपुगिने भन्दै पुष्पलालको बिचारलाई टुंगोमा पुर्‍याउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । सत्तामा बसेर कसैले घमण्ड गरे पत्तासाफ हुन समय नलाग्ने उहाँको भनाइ थियो । 


कार्यक्रममा नेताहरु झलनाथ खनाल र वामदेव गौतम लगायतले चम्पादेबीस्थित पुष्पलालको प्रतिमामा श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।


 

पुष्पलाल पुष्पपलाल स्मृति प्रतिष्ठान

विशेष