प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपाल छ ।
नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताउनुभयो। मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको जानकारी दिनुभयो ।
विपदका बेला सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उनले प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाव दिनुभयो ।
नेपालको भूबनोटका कारण पहाडबाट बगेको पानीले तराईमा हरेक वर्षायाममा डुवान हुने देखिएको भन्दै सांसद रिजालले नदी नियन्त्रणको काम प्रभावकारी रुपमा नगर्ने हो भने समस्या दोहोरिरहने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाउनुयभो । दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको उहाँको आरोप छ ।