Breaking News

 ‘रअ’को भेटपछि नेकपामा किचलो

 ‘रअ’को भेटपछि नेकपामा किचलो


         
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एकाएक आन्तरिक विवाद झन चर्किएको छ । एकता प्रक्रिया र नेताहरुको जिम्मेवारी बाँडफाँट चलिरहेकै बेला भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समन्तकुमार गोयलसँग शीर्ष नेताहरुको भेटले समस्या बल्झाएको  हो । 

बिहीबारका लागि निर्धारित केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा स्थगित हुनुलाई पनि गोयलसँगको भेटको प्रभावका रुपमा लिइएको छ । जनवर्गीय संगठन, जिल्लाका इन्चार्ज÷सह इन्चार्जसँगै विभागहरुको नेतृत्वका विषयमा पनि लगभग सहमति भैसकेका बेला एकाएक स्कुल विभागमा सहमति नजुटेको भन्दै बैठक स्थगित गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । 

स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले अडान नछोडेकाले सहमति हुन नसकेको बताइए पनि भित्री कुरा अर्कै भएको नाम नबताउने सर्तमा एक नेताले नेपाल आजलाई बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग गोयलले गरेको छुट्टाछुट्टै गोप्य भेटले उनीहरु आपसमै शंका उब्जाएको छ । विश्वस्त शूत्र भन्छ– ‘गोयलले दुवै नेतालाई उनीहरु अनुकूलको आश्वासन दिएका छन् ।’ दुवैलाई  अनुकूल हुने कदम दुई तिहाइ प्राप्त पार्टीका लागि प्रतिकूल हुने कार्यकर्ता पंक्तिको बुझाई छ । 

अध्यक्ष प्रचण्डले ओलीसँग भएको ५ बुँदे सहमति बल्झाउँदै सार्वजनिक रुपमा आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने भनेपछि उनीहरुबीच विश्वासको संकट उत्पन्न भएको थियो । यो बीचमा विभिन्न कमिटीको नेतृत्व चयन गर्ने बेला पनि ठूलै रस्साकस्सी चलेको थियो । अहिले स्कुल विभाग कुनैपनि हालतमा पूर्व एमालेबाट आएकालाई दिन नसकिने अडान प्रचण्डले लिएका छन् । उनले यो अडान लिनुअघि पूर्व माओवादी नेताहरुको खुमलटारमा बैठक बोलाइ सुझाव लिएका थिए । 

लगातार सचिवालय बैठक स्थगित भएपछि सहमति भएको भनिएका संगठन र विदेश विभागको नेतृत्व पनि फेरबदल हुनसक्ने छ । अहिलेसम्म संगठनमा बामदेव गौतम र विदेश विभागमा माधव नेपाल तय भएको भनिए पनि निर्णय सार्वजनिक नभएकाले उल्टिन सक्ने सम्भावना  प्रशस्त छ । स्कुल विभागमा बामदेव र माधव नेपालले नारायणकाजीलाई समर्थन नगरे प्रचण्डले संगठन र विदेश विभागमा नयाँ मान्छेको नाम प्रस्ताव हुन सक्नेछ । 

‘र’ प्रमुख गोयलले नेपालका शीर्ष नेताहरुसहित पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भेटेर ‘मिसन कम्प्लिट’ गरी फर्किएको चर्चा भैरहँदा नेकपाको एकता प्रक्रियामा देखिएको ‘अवरोध’ ले ठूलो भूकम्प नल्याउला भन्न सकिन्न । 
 

विशेष