कांग्रेस नेताहरु किन छिरे भारतीय दुतावास
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल मंगलबार दुबई उडे । नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री यसैसाता सिंगापुर जाँदैछन् । यता नेपाली कांग्रेसका नेताहरु भने भारतीय दुतावास छिरेका छन् । मंगलबार प्रचण्ड दुबई उडेलगत्तै कांग्रेस नेताहरु साँझ दुतावास छिरेका थिए ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेतृ सुजाता कोइराला, नेता डा. मिनेन्द्र रिजाल लगायतका नेताहरु भारतीय दुतावास पुगेर पछिल्लो समसामयिक राजनीतिबारे छलफल गरेका हुन् ।
भारतीय दुतावासले मंगलबार साँझ कांग्रेस नेताहरुको सम्मानमा रात्रीभोजसमेत दिएको थियो । पछिल्ला दिनमा संसद्मा बढ्दो विरोध र सरकारको कामकारबाहीलाई लिएर जनअसन्तुष्टि चुलिँदै गएको सन्दर्भमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कांग्रेस नेताहरुका लागि दुतावासले रात्रिभोज दिएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो । नेपाल आजसँग भएको टेलिफोन कुराकानीमा उनले भने –‘‘त्यस्तो केही होइन, कसरी थाहा पाउनुभयो र ?’’ तर भेटमा के कुराकानी भयो भन्नेबारे उनले भने –‘‘हैन हैन त्यस्तो ठूलो कुरा केही भएन । रात्री भोज खान गएका थियौँ । अब भेटपछि केही छलफल त भैहाल्छ नि’’ । भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सबैसँग छलफल गरेका थिए ।
कांग्रेसभित्र शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल यही फागुनमा सकिँदैछ । कांग्रेसको आगामी अधिवेशनबाट नेतृत्वमा कोइराला खेमा नै आउने गरी नेतृ सुजाता कोइराला, महामन्त्री डा. शशांक कोइराला, नेता शेखर कोइराला लगायत लबिङमा लागिसकेका छन् ।