राजनीति

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

काठमाडौं । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वएमाले र माओवादीेका प्राध्यापकलाई नियुक्ति गर्ने आन्तरिक तयारी गरेका छन् । अबको २० दिनपछि अर्थात भदौ ५ गतेदेखि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रिक्त हुँदै छ ।

 

विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएपछि कुलपति छनोट हुने तयारी भइरहेको छ । अध्यक्ष दाहाल मंगलबार संयुक्त अबर इमिरेट्स प्रस्थान गरेका छन् । प्रम ओली प्रचण्ड फर्किएलगत्तै आगामी साता उपचार गर्न सिंगापुर जाने कार्यक्रम रहेको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्केलगत्तै नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया शुरु हुनेछ ।

 

दुवै अध्यक्षले आफ्ना पार्टी निकट प्राध्यापक संगठनको सल्लाहअनुसार उपकुलपति नियुक्ति गर्ने तयारी गरेका छन् । पार्टी एकीकरण भएपछि दुवै पार्टीका प्राध्यापक संगठन छुट्टाछुट्टै क्रियाशील छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफू निकट प्राध्यापकको नाम संकलन गर्न थालेका छन् । दुवै संगठनले छनोट गरेको नाम गोप्य राखिएको छ ।

 

स्रोतका नेपाल राष्ट्रिय प्राध्यापक संगठनले कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयमा आफू निकट प्राध्यापकलाई नियुक्ति गरे पनि त्रिवि सेवा आयोगमा पूर्वमाओवादी निकट प्राध्यापकलाई दिनुपर्ने तर्क अघि सारेका छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संघका अध्यक्ष यादवप्रसाद लामिछानेले प्राध्यापक संगठनबीच एकीकरण भइनसकेका कारण पूर्वएमाले र माओवादीको तर्फबाट उपकुलपति नियुक्त हुन सक्ने दाबी गर्नुभयो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव पूर्ण लामिछानेले दुईवटै पार्टी निकट संगठनको भागबण्डामा उपकुलपति छनोट गर्नुपर्ने तर्क राखे । उनले भने, ‘सबैलाई मिल्ने गरी सातवटै विश्वविद्यालयमा उपकुलपति चयन गर्नुपर्छ ।’

 

पछिल्लो समय त्रिविमा विकृति बढ्न थालेपछि स्वतन्त्र प्राध्यापकलाई उपकुलपति बनाउने तयारी भएको छ । स्वतन्त्र उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रका बुद्धिजीवीसँग समेत छलफल गर्नुभएको बुझिएको छ । तर उपकुलपति नियुक्ति गर्दा नेकपाका दुवै अध्यक्षको सहमतिमा उपकुलपति नियुक्ति गर्ने योजना रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

नेकपा उपकुलपति भागबण्डा

विशेष