केपीलाई हानेको प्रहार आफैंतिर फर्कियो, प्रचण्ड टेन्सनमा
प्रचण्ड एक्लिएपछि एकताको वातावरण
काठमाडौं । केपी शर्मा ओलीलाई सके सरकारबाट विस्थापित गर्ने, नसके तह लगाएर छोड्ने योजनाका साथ शुरु भएको प्रचण्डको गुप्त योजना असफल भएको छ । ओलीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने र अन्ततः पार्टी अध्यक्षबाट समेत हटाउने उद्देश्यका साथ प्रचण्डले केपीविरुद्ध ‘बलियो’ मोर्चा खडा गरेका थिए । आफ्नो मोर्चामा वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र भीम रावलदेखि घनश्याम भुसाल र योगेश भट्टराईसम्मलाई सामेल गरिसकेको बताएर प्रचण्डले माधवकुमार नेपालको विश्वास प्राप्त गर्ने अन्तिम कसरत गरेका थिए ।
केपीका विरुद्ध सबैजसो नेताहरु एकजुट भइसकेको ‘आकर्षक स्थिति’ देखाएपछि माधव नेपाल पनि प्रचण्ड मोर्चामा सामेल हुन तम्तयार भएको बताइन्छ । केपीलाई पदमुक्त गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाइने र आफू पार्टीको ‘एकलौटी अध्यक्ष’ बन्ने सपना पूरा गर्न आवश्यक परे लिखित सम्झौता नै गर्ने योजना प्रचण्डको थियो । तर, लुलो नेताका रुपमा चिनिने माधवकुमार नेपाल भने परिस्थितको ‘जोखना’ हेर्दै थिए ।
प्रचण्डसँग मिले पनि पद, केपीसँग मिले पनि पद प्राप्त हुने लाभको स्थितिमा माधव नेपाल रहेकाले उनी यतिबेला ‘शक्तिशाली बार्गेनर’ को हैसियतमा छन् । प्रचण्डले प्रधानमन्त्री उधारोमा दिइरहेका थिए भने केपी ओली तत्काल माधव नेपाललाई कार्यकारी वा कार्यवाहक अध्यक्ष बनाउन सक्ने अवस्थामा छन् । त्यसैले माधव नेपाल केपी विरुद्धको मोर्चाबन्दीमा सामेल हुनेभन्दा सहमति बनाएर अघि बढ्ने मानसिकतामा पुगेको बुझिएको छ । माधवको यही मानसिकता बुझ्न नसक्दा प्रचण्ड आफ्नो योजनामा तत्काल सफल हुन सकेका छैनन् ।
नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे पार्टीमा विग्रह पैदा हुने प्रकारको कुनै कार्य गर्न तत्पर नरहेको र सरकार विस्थापित गर्नेभन्दा पनि सरकारलाई प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा श्रेष्ठ र पाण्डे रहेको बुझिन्छ । त्यस्तै वामदेव गौतम र योगेश भट्टराई पनि केपीले ‘एक्सेस’ नदिएकोले मात्र प्रचण्डतिर लागेको विश्वास गरिन्छ । यसबीचको केपीले जब आफ्नो शैलीमा परिवर्तन ल्याए र पार्टीका नेताहरुसँग संवाद र परामर्श शुरु गरे त्यसपछि प्रचण्डको सपना चकनाचुर हुन पुगेको छ । केपी र प्रचण्डबीच पटकपटक भएका संवादपछि प्रचण्ड आफूले चाल्न खोजेको भावी कदमबारे पुनर्विचार गर्ने स्थितिमा पुगेको बुझिएको छ । यो समाचार आजको घटना र विचार साप्ताहिकबाट लिइएको हो ।