विमलेन्द्र निधिले भने : विप्लवलाई मूलधारमा ल्याउनुपर्छ
चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे ।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे ।
निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । 'काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन', उनले भने ।
सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।
फरक प्रसङ्गमा उनले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताए ।
विलेन्द्र निधि