रोजगार

समायोजन भएर स्थानीय तहमा गएका कर्मचारी सिंहदरबार फर्किए

समायोजन भएर स्थानीय तहमा गएका कर्मचारी सिंहदरबार फर्किए

काठमाडौं : स्थानीय तहमा समायोजन भएर गएका करिब ८० कर्मचारी सिंहदरबार फर्किएका छन् । खटाएको स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिले भर्ना हुन नदिएको भन्दै उनीहरू संघमा फर्किएका हुन् ।  

समायोजन ऐनले समायोजन भएको २१ दिनभित्र खटाएको ठाउँमा हाजिर भइसक्नुपर्ने, अन्यथा जागिरबाट अवकास लिनुपर्ने व्यवस्था गरेको छ । यस्तै, संघले समायोजन गरी खटाएका कर्मचारीलाई खटाएको ठाउँमा अनिवार्य हाजिर गराउनुपर्ने व्यवस्था छ । हाजिर हुन नदिए हाजिर हुन नदिने कार्यालय प्रमुखलाई कारबाही हुने ऐनमा व्यवस्था छ । तर, ऐनले गरेको व्यवस्थाविपरीत उनीहरू सिंहदरबार फर्किएका हुन् । 

मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्थानीय तहको असहयोगका कारण केही कर्मचारी फिर्ता आएको स्विकारे । उनले ती कर्मचारीलाई चाँडै व्यवस्थापन गरिनेसमेत बताए । तर, मन्त्रालयका एक उपससचिवले फिर्ता आएका कर्मचारीलाई व्यवस्थापनबारे कुनै पहल नभएको बताए । ‘कानुनले समायोजन भएका कर्मचारीलाई संघमा फर्किने सुविधा दिएको छैन, कानुनविपरीत फर्किएका कर्मचारीबारे मन्त्री लालबाबु पण्डितले पनि कुनै चासो राखेका छैनन्,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

कर्मचारी

विशेष