राजनीति

'विकासका गति संगसंगै लैजान गान्सु प्रान्तसंग भगिनी सम्बन्ध'

'विकासका गति संगसंगै लैजान गान्सु प्रान्तसंग भगिनी सम्बन्ध'

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चीनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताएका छन् ।

चिनको ५ दिने भ्रमणका क्रममा विहिबार गान्सु प्रान्तमा भएको २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उनले चीन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राखे । योभन्दा अगाडि पनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चिनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पारे ।

मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चीनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए । चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भने–‘ चीन त विशेष छँदैछ त्यसमा पनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’

गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उनले परिबहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । नेपालले अहिले सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको बिकासको भूमिका हुने पनि उनको भनाई थियो ।

नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उनले जानकारी दिए । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उहाँले प्रतिबद्धता जनाए ।

चीनको भ्रमण रहेका मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गरे । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ ।

यसै गरी भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतिय सवारी संचालनका बिषयमा पनि थप छलफल हुने मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले बताए ।

गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री पौडेलसँग उनकी धर्मपत्नी बिजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेल सहभागी छन । टोली २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

डोरमणि पौडेल

विशेष