राजनीति

धनराज गुरुङले भने : प्रधानमन्त्री ओली एक्कासी फेरि दिल्लीभक्त हुनुभयो

धनराज गुरुङले भने : प्रधानमन्त्री ओली एक्कासी फेरि दिल्लीभक्त हुनुभयो

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो। विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ती गर्नुहुन्छ।’

उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ’, उनले भने।

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीबादी चरित्र देखाएको पनि आरोप लगाए। उनले भने, ‘चर्को विवाद भएपछि आइफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो।’

नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुसी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाई छ। उनले भने, ‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन् । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं। सरकार नालायक भयो।’

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ। उनले भने, ‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ।’ उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकता भैसकको पनि सुनाए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

विशेष