राजनीति

प्रचण्डका सम्धिलाई पिर्के सलामीको रहर

प्रचण्डका सम्धिलाई पिर्के सलामीको रहर

काठमाडौं । सलामी लिने रहर र सलामी दिएर चाकडी गर्ने बाध्यताबाट धेरै यस्ता परिस्थितिहरु उत्पन्न भएका छन् ।  सलामीको रहरले नेताहरु आलोचित भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डका नातामा सम्धि पर्ने चूडामणि खड्काले पनि पिर्के सलामी लिएको तस्बीर सार्वजनिक भएको छ । 

 

यो तस्बीर कहिले खिचिएको हो, खुलेको छैन । तर गोर्खा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद कार्यक्रमका अवसरमा खिचिएको देखिन्छ । जनयुद्धकालमा घाइते भएर अपांग हुन पुगेका खड्का गोरखाबाट समानुपातिक सांसद छन् । 

 

बाबुराम भट्टराईलाई तत्कालीन एमाले–माओवादी चुनावी गठबन्धनबाट अलग्याउने खड्काले भूमिका निर्वाह गरेको पनि बताउने गरिन्छ । खड्का सांसद हुनुअघि पार्टी अध्यक्ष प्रचण्डका स्वकीय सचिव थिए । साइनो केलाउँदै जाँदा खड्का र प्रचण्ड सम्धि–सम्धि पर्ने बुझिएको छ । 

 

खड्का मात्रै होइन, आफू बसेकै होटलमा सलामी लिएर पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाही आलोचित भएका थिए । अर्जुननर सिंह केसी पनि यस्तै सस्तो सलामीका कारण विवादमा आए ।  सलामीको मोह सामाजिक सञ्जालदेखि विभिन्न अखबारका सम्पादकीयमार्फत पनि आलोचित हुने गरेको छ । 

 

पिर्के सलामीका सम्बन्धमा कुराकानी गर्न खड्कालाई टेलिफोन सम्पर्क गर्न खोजिएको थियो, तर उनले फोन उठाएनन् ।

विशेष