विषादी परीक्षण गर्नु भनेको आफैमाथि नाकाबन्दी लगाउनु हो : मन्त्री यादव
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको जिकिर गरेका छन् ।
भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा नउफ्रिन सांसदहरुलाई आग्रह गरे ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनुसरह हुने बताए ।
कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको र मूल्य बृद्धि हुन थालेपछि सरकार पछि हटेको उनको भनाइ थियो । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराधको रुपमा लिन्छ भने पनि आफ्नो भन्नु केही नरहेको भन्दै मन्त्री यादवले तिललाई पहाड बनाउन खोजिएको बताए ।
विदेशीको अगाडि झुक्ने बानी परेकाहरुले आफुहरुलाई झुक्यो भनेर आरोप लगाइरहेको मन्त्री यादवको जिकिर थियो ।