फेरि किन सर्यो प्रधानमन्त्रीको स्वदेश फर्किने तालिका ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने दिन पुनः सरेको छ। यसअघि आइतबार प्रधानमन्त्री स्वदेश फर्किने बताइएको थियो। फेरि प्रधानमन्त्री ओली स्वदेश फर्किने तालिका सोमबारलाई सरेको छ। योसँगै प्रधानमन्त्री स्वदेश फर्किने तालिका दुई पटक सरेको छ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री स्वदेश फर्किने तयारी गरे पनि उनको उपचार नसकिएका कारण आइतबारसम्मका लागि सारिएको थियो। आइतबार स्वदेश फर्किने तालिका रहे पनि उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिला भएकाले उनको तालिका सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट आउने जानकारी दिएको छ। उनी सोमबार साढे ११ बजे स्वदेश आइपुग्ने तालिका तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।
सम्बन्धित समाचार
✍️ प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण ?
✍️ प्रधानमन्त्रीले नै विवादास्पद व्यक्ति च्यापेर हिँडेपछि...
मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। सिंगापुर जानुअघि उनको सैनिक अस्पताल छाउनीमा ल्याव परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो।
चिकित्सकहरूका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुइको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकाले त्यसको परीक्षण गरिन्छ। कहिलेकाहिँ यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ। धेरै लामो समय भएपछि पनि त्यसको कार्यप्रणाली कस्तो छ भनेर बुझ्नका लागि बायोप्सी गरिने चिकित्सकहरूले बताएका छन्। उक्त परीक्षणपछि थप फलोअपका चिकित्सकहरूले सिंगापुर जान सुझाएका थिए।
केपी शर्मा ओली