राजनीति

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’, जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’, जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी

नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ ।

पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले पूर्णता पाए पनि स्थानीय तहको एकता प्रक्रिया अझै अगाडि बढन सकेको छैन् ।

सचिवालयमा स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीले लिने भन्ने विवाद चर्किएको छ भने स्थानीय तहमा नेतृत्व लिने विषयमा पनि नेकपाभित्र हानाथाप बढ्दै गएको छ । विभागहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्वमा मोटामोटी सहमति जुटे पनि स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचको विवादको कारण आधा महिनादेखि सचिवालय बैठक नै बस्न सकेको छैन ।

एकीकरणको सम्पूर्ण निर्णय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । स्कुल विभागको जिम्मेवारीबारे अध्यक्षद्वयबीच नै कुरा मिल्न नसकेपछि सकस देखिएको छ ।

एकताको बाँकी काम पूरा गर्नका लागि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्यव्यस्ता नै प्रमुख कारण मानिदै आएको छ । नेकपाभित्र अध्यक्ष ओली/प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको गुट सक्रिय रहदै आएको छ । शीर्ष नेताहरुबीच नै आशंका र अविश्वास बढ्दै गएकाले विभागहरुले पूर्णता पाउन अझै धौधौ देखिन्छ ।

वरिष्ठ नेता झलनाथ खनालले एकताको भावनाअनुसार सांगठानिक एकता प्रक्रियाले समयमा नै पूर्णता पाउन नसकेको बताउँदै भने, ‘ढिला भएको छ, हामीले छिटो गराँै भनेका छौं, अब बाँकी कामलाई सचिवालले टुंगो लगाएर पार्टीले अभियान सञ्चालन गरेर अगाडि बढछ ।’

उनले अब बस्ने सचिवालय बैठकले स्कुल विभाग लगायतका विवादित विषयको टुंगो लगाएर अगाडि बढ्ने दावी गरे ।
स्थानीय कमिटीलाई पूर्णता दिने अधिकार पाएका जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले पनि पटक–पटक प्रदेश कार्यालयले दिएको निर्देशनअनुसार काम गर्न सकेका छैनन् । स्थानीय कमिटीलाई गत असार मसान्तभित्र नै पूर्णता दिने निर्देशन दिए पनि जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले वेवास्ता गर्दै आएका छन् । यो खबर आजको नेपाल समाचार पत्रबाट लिइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी

विशेष