राजनीति

प्रचण्डको सचिवालयले भन्यो : क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी कुप्रचारमा लागे

'प्रकाशको नाममा विदेश बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति दिन्छौं'

प्रचण्डको सचिवालयले भन्यो : क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी कुप्रचारमा लागे

काठमाडौं : यतिबेला जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्वहरूबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालय जनाएको छ। सचिवालयले एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेको जनाएको हो।

त्यस्तै जारी विज्ञप्तिमा प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरू उनको बदनाम गर्न उद्दत उल्लेख गरिएको छ। दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने विषयको सचिवालय भर्त्सना तथा खण्डन गर्दै यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हुने बताएको छ।

'कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं' विज्ञप्तिमा भनिएको छ 'यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।'


पुष्पकमल दाहाल प्रचण्ड

विशेष