राजनीति

अर्थमन्त्री भन्छन्, ‘अब करको दर बढाउने ठाउँ छैन’

अर्थमन्त्री भन्छन्, ‘अब करको दर बढाउने ठाउँ छैन’

बनेपा । अर्थमन्त्री डा. युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए । 

उनले भने, ‘अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।’  संस्थागत आयकर र मूल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उनले त्यसको अझैसम्म परिवर्तन नगरेको बताए । 

करको दर नबढेको तर सङ्घीय संरचनामा जाँँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको उनले बताए । 

स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको उनले बताए । मन्त्री खतिवडाले व्यवसायीलाई पनि स्वच्छ, पादर्शी र प्रतिस्पर्धी व्यवसाय गर्ने अवसर प्रदान गर्न सरकार तयार रहेको बताए । 

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याजुले करको सन्दर्भमा भ्रम र फरक ढङ्गले ब्याख्या गरेको पाइएको उल्लेख गर्दै संविधानले लेखेको भन्दा फरक ढङ्गले कहीँ पनि कर नलिएको बताए । राजश्व सचिव लालशङ्कर घिमिरेले जनतालाई राज्यको उपस्थिति नजिकको घरदैलोबाट नै दिनुपर्छ भन्ने उद्देश्यले धुलिखेलमा आन्तरिक राजश्व कार्यालयको स्थापना गरेको बताए । रासस

डा. युवराज खतिवडा कर

विशेष