सरकारको नेतृत्व सम्झौता अनुसार : प्रचण्ड
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म आफू नै प्रधानमन्त्री भनेको भोलिपल्टै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्झौता अनुसार नै हुने बताएका छन् ।
सशस्त्र युद्धका क्रममा मारिएका तत्कालिन माओवादीका नेता रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन धर्मपत्नी सिता दाहालसहित जनकपुर पुगेका अध्यक्ष दाहालले विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा पाँच वर्ष पार्टीले नै सरकार चलाउने निश्चित भएपनि नेतृत्व भने पार्टी एकता हुँदाको सम्झौता अनुसार हुने बताए ।
पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको पहिलो वर्ष भने सुखद रहन नसकेको अध्यक्ष दाहालको स्वीकारेका छन् । पार्टी एकता र विकल्पका बारेमा आफुले बोलेको कुरालाई सञ्चार जगतले गलत व्याख्या गरेको भन्दै दाहालले एकता गरिसकेपछि अब कुनै विकल्प नरहेको र अन्य केहि सोच्न पनि नहुने बताए ।
ओलीले अन्याय गरे : नेपाल
पत्रकारहरुसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीप्रति असन्तुष्टि जनाए। तत्कालिन समयमा झलनाथमाथि र अहिले आफूमाथी अन्याय भएको उनले बताए । उनले पहिले र अहिले पार्टीको अवस्था भिन्न रहेको भन्दै अध्यक्ष ओली सच्चिनुपर्ने बताए ।
पार्टीमा चौथो वरियतामा झारिएपछि वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका छन् । नेता नेपालले समेत पार्टीले ऐतिहासिक रुपमा पाएको सरकारको नेतृत्वले अवसरको सदुपयोग गर्न नसकेको पनि आरोप लगाए ।