राजनीति

जनकपुर पुगेर प्रचण्डले भने, ‘समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री र म आउँदै छौं’

जनकपुर पुगेर प्रचण्डले भने, ‘समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री र म आउँदै छौं’

जनकपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै तराई–मधेसमा आउने आश्वासन बाँडेका छन् । सोमबार धनुषाको बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको स्मृति सभामा बोल्दै दाहालले तराई–मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताए । 

मधेसको समस्याबारे प्रधानमन्त्रीसँग छलफल भएको बताउँदै दाहालले बाढीको क्षति न्यूनिकरण, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन ‘मास्टर प्लान’ आवश्यक रहेको बताए । ‘यी सबै समस्याको दीर्घकालीन समाधान हुनुपर्छ । चुरेको संरक्षणको मास्टर प्लान नगरेसम्म तराईलाई जोगाउन सकिन्न,’ दाहालले भने, ‘जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतको परियोजनाले मधेस–तराईले विकासमा फड्को मार्छ । हामी दुवै अध्यक्ष विशेष प्याकेज लिएर तराई–मधेसमा आउँदैछौं । तराई(मधेसको समग्र विकासको खाका लिएर हामी छिट्टै आउँदैछौं ।’

जनयुद्धको पहिलो तालिम धनुषामै लिएको दाबी गर्दै दाहालले तराई-मधेससँग आफ्नो ‘लभ’ परेको प्रसंग कोट्याउँदै भने, ‘दोस्रो संविधानसभामा सिरहाबाट चुनाव जितेँ । प्रधानमन्त्री पनि बनेँ । त्यसैले मधेसको विकास र समृद्धि हाम्रो प्राथमिकतामा छ ।’ उनले तराई–मधेसको जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाएका छन् कि छैनन्, त्यो महत्वपूर्ण विषय भएको बताउँदै प्रदेश २ सरकारको आलोचना पनि गरे । ‘प्रदेश २ मा भ्रष्टाचार बढ्यो, सुशासन छैन । जनताले झन दुःख पायो भनेर मैले सुनेको छु,’ दाहालले भने । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ समृद्धि र विकास

विशेष