नेपालसँगको सम्बन्ध समान राष्ट्रका आधारमा अघि बढ्छ : डा. विजय चौथाइवा (भिडियोसहित)
काठमाडौँ । भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले नेपाल र भारत सम्बन्ध समान नीतिका आधारमा अघि बढ्ने बताउनुभएको छ । नेपाल सानो वा ठूलो मुलुक भन्दा पनि सार्वभौम मुलुक रहेको भन्दै उहाँले भारतले नेपालसँग समान राष्ट्रका आधारमा अघि बढ्ने नीति लिएको स्पष्ट पार्नुुभयो ।
नेपाल भारत मैत्री समाजले ललितपुरमा गरेको अन्तर्क्रियामा डा. चौथाइवाले नेपाल र भारतबीच कुनै विषयमा छलफल गरी साझा निष्कर्ष निकाल्न सकिने बताउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्ध हड्डी र मासुको झैँ भएको भन्दै सम्बन्ध अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले उच्च आर्थिक वृद्धिदर हासिल गर्दै विभिन्न शक्तिराष्ट्रसँग समन्वय गर्ने बताउनुभयो ।
पाकिस्तान लगायत छिमेकी राष्ट्रहरुसँग सम्बन्ध सुदृढ गराउनेतर्फ आफूहरु लागेको उहाँको भनाइ छ । तर पाकिस्तानले केही शर्त पूरा गरे वार्ता सम्भव रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले नेपाल र भारतबीचको खुल्ला सीमाना र त्यसका कारण उब्जिएको समस्या, विभिन्न समयमा हुने बाढी डुबानजस्ता प्राकृतिक विपत्तिबारे दुवै देशले संयुक्त रुपमा समन्वय गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल र भारतबीच सदियौँदेखि गहिरो सम्बन्ध रहेकाले उतारचढाव छाडेर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल भारत र चीन कुनै पनि देशको विरोधी नभएको स्पष्ट पार्दै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धमा कसैले पनि फाटो ल्याउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री तथा राजपाका नेता महेन्द्रराय यादव, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी लगायतले नेपाल भारत सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।