मुख्य समाचार राजनीति

नेकपा सचिवालय बैठक आज पनि बस्दै

नेकपा सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहीबार बिहान ८ बजे बस्ने बताइएको छ । बुधबारको बैठकमा भएका छलफलका विषयलाई बिहीबारको बैठकमा पूर्णता दिइने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए । 

सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रमा कुनै छलफल नभएको पार्टीले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएको थिएन । ‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन’ पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका थिए । उनले केही निर्णय सच्याउन माग पनि गरेका थिए । प्रवक्ता श्रेष्ठले भने, ‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’ 

सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा बैठकमा छलफल भएको बताउँदै प्रवक्ता श्रेष्ठले थपे, ‘छ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो तर समय अभावका कारण भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ 

नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक

विशेष