प्रदेश ७

उपराष्ट्रपति पुनद्वारा गौरा पर्वको शुभकामना 

उपराष्ट्रपति पुनद्वारा गौरा पर्वको शुभकामना 

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सुदूरपश्चिमलगायत क्षेत्रमा मनाइने गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘ सुदूरपश्चिम प्रदेशमा भाद्र कृष्णपञ्चमीका दिनदेखि भव्य रुपमा मनाइने गौरा पर्वको पावन अवसरमा सुदूरपश्चिम प्रदेशबासी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतीको शुभकामना व्यक्त गर्दछु ।’ 

उपराष्ट्रपति पुनले सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाईने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाहरुले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्य जस्ता संस्कार संस्कृतिले झनै सुन्दर बनाएको बताएका छन् । उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपालकै पहिचान रहेको बताए । 

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी हुने जस्ता जनविश्वास छन् । गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने विश्वास छ ।   
 

नन्दबहादुर पुन ‘पासाङ’ सुदूरपश्चिम गौरा पर्व

विशेष