राजनीति

कमजोर बन्दै विप्लव समूह

कमजोर बन्दै विप्लव समूह

काठमाडौं । सरकारले राजनीतिक रूपमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सुरक्षा संयन्त्रले कमजोर बन्दै गरेको विश्लेषण गरेको छ । नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ । प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरू समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आबद्ध भएकाहरू समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको विश्लेषण गरेको हो ।

 

नेपाल प्रहरीका एक उच्च अधिकारीले प्रहरीको उच्च निगरानी र सुरक्षा संयन्त्रको सक्रियता पछि पछिल्ला दिनमा सो समूहका गतिविधि र पार्टीका सांगठनिक गतिविधि कमजोर बन्दै गएको बताए । उनले विप्लव समूहका सबै क्रियाकलापमा देशैभर प्रहरीले उच्च निगरानी राख्दै आएको र पार्टीका संरचनामा पनि अब सो समूह कमजोर बन्दै गएको जनाए । सरकारले गत २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

प्रहरी प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेल
ले प्रतिबन्धयता सो समूहका ४३ जना जिल्ला इन्चार्जसमेत गरी बिहीबारसम्म ६ सय ३४ जना नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले तयार गरेको विवरणअनुसार हालसम्म विप्लव समूहका ४३ जिल्ला इन्चार्जसहित स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र विभिन्न भ्रातृ संगठनका गरी १ सय ३६ जना नेतृत्व तहका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थायी समिति सदस्य १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ८, जिल्ला इन्चार्ज ४३ जनासहित १ सय ३६ जना छन् ।

 

यस्तै, सो समूहका नेता कार्यकर्तामाथि प्रतिबन्ध लगाएयता हालसम्म ६ सय ४८ वटा मुद्दा दर्ता भएको छ । संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार र आगजनीअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको हो । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव समूह

विशेष