संसद्मा सोमबार कसले के भने ?
काठमाडौँ । प्रतिनिधि सभको सोमबारको बैठकमा सांसद्हरुले समसामयिक विषयमा सरकारको धारणा तथा जानकारी माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले उपनिर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारीको व्यापक सरुवा गरेर उपचुनावलाई प्रभावित पार्न खाजेको आरोप लगाइन् ।
उनले सहसचिव सरुवा गर्दा वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नो नीतिगत निर्णय उल्लंघन गरेर सरकारले ७६ सहसचिवको सरुवा गरेको आरोप लगाइन् ।
रेन्जर बटालियन खारेज गर्न माग
सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले नेपाली सेनाभित्रको रेन्जर बटालियन खारेज गर्न माग गरे ।
द्वन्द्वकालमा नेपाल सरकारले अमेरिकी सहयोगमा नेपाली सेनाभित्र ‘अपरेसन’का लागि भनेर विशेष संरचना (रेन्जर बटालियन) बनाएको भन्दै उनले मुलुकमा द्वन्द्वको अवस्था नरहेकाले उक्त संरचना खारेज गर्न माग गरेका हुन् ।
सामाजिक सन्जालको दुरुपयोगमा चिन्ता
सत्तारुढ दल नेकपाका अर्का सांसद खगराज अधिकारीले सामाजिक सन्जालको दुरुपयोग बढ्दै गएको भन्दै दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।
चितवनमा प्रदर्शनप्रति ध्यानाकर्षण
सत्तारुढ दलका सांसद गजेन्द्रबहादुर महतले चितवनमा भइरहेको प्रदर्शनप्रति ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।
उपकुलपति भण्डारीलाई बर्खास्त गर्न माग
सत्तारुढ दलकै सांसद मेटमणि चौधरीले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्न माग गरे ।