मुलुक राजनीतिक दुर्घटनाको संघारमा, निकास दिन तानाशाह आवश्यक (भिडियोसहित)
दुई तिहाईको बलियो सरकार भएर पनि जनअपेक्षा अनुसार काम हुन नसकेपछि विभिन्न बाहनामा सडकमा जनआक्रोश चुलिने क्रम जारी छ । सानो केही भेट्यो कि मानिस सरकारविरुद्ध नाराबाजीमा उत्रिन थाल्छन् । नेताहरुमाथि गालीगलौजको वर्षा हुन थाल्छ ।
राजनीतिक विश्लेषक प्रेमसागर पौडेलका अनुसार मुलुकको राजनीतिक प्रणाली र नेताहरुको व्यक्तिवादी सोच नै समस्याको मूल कारण हो । संघात्मक व्यवस्था र नेताहरुको द्रव्यमोहका कारण जनताका चाहनामाथि कुठाराघात हुनेक्रम बढेको हो । पौडेल भन्छन्– ‘चुनाव प्रणाली यति महङ्गो भयो कि नेताहरु पदमा पुग्ने वित्तिकै खर्च उठाउनतर्फ लाग्न थाले । संघीयता यति महङ्गो भयो कि देशभर तलब खानेहरु मात्र भए । प्रदेश सरकारको आफनो आयश्रोत केही छैन । विदशीसंग पैसा मागेर संघीयता चल्छ ?’
यही अवस्था कायम रहने हो कुनैपनि बेला राजनीतिक प्रणाली दुर्घटनामा पर्ने र यसले नेपालको संविधान २०७२ लाई समेत खरानी बनाउन सक्छ । मुलुकको राजनीतिक प्रणाली असफलतातर्फ जाँदैछ, नेताहरु व्यक्तिगत स्वार्थमा मात्र लागेका छन् । उनीहरु समयमै गम्भीर नहुने हो भने यो व्यवस्था समाप्त भएको टुलुटुलु हेर्नु सिवाय कुनै विकल्प रहने छैन ।
सेना मात्र चोखो
नेताहरुकै बदमासीका कारण कुनैपनि संरचना चुस्तदुरुस्त छैनन् । कर्मचारीतन्त्र, निर्वाचन आयोग, प्रहरी, न्यायालय, मानवअधिकार, अख्तियार जताततै बेथिति नै बेथिति । उनीहरुले संवैधानिक निकाय र मुलुकका सार्वजनिक संस्थानहरुलाई राजनीतिक स्वार्थ सिद्ध गर्ने औजार मात्र बनाए ।
नेपाली सेनाबाहेक देशमा कुनैपनि निकाय राजनीतिक दुस्प्रभावबाट मुक्त छैन । सबै बिटुलिएका छन् । नेपाली सेनालाई पनि गिजोल्ने प्रयास थुप्रै पटक नभएका होइनन्, तर सफल हुन सकेनन् । मुलुकको राष्ट्रिय नीति र एक असल नेता नहुँदा यस्ता बेथिति आइरहन्छन् ।
वास्तवमा संघीयता होइन, विकेन्द्रीकरणमा ध्यान दिनुपर्ने हो । केन्द्र शासित राज्य प्रणालीमा विकेन्द्रिकरणको सिद्धान्त अनुसार अघि बढे मुलुकको आर्थिक भार कम हुन जान्छ । यसले राजनीतिक संस्कार र प्रणालीको पनि विकास गर्छ ।
तानाशाहको खोजी
मुलुकलाई असफलतातर्फ जानबाट रोक्न अहिलेका कोही पनि नेता सफल हुने छाँट छैन । उनीहरु विभिन्न शक्ति केन्द्रबाट पालिएका र उतैबाट निर्देशित भैरहेकाले चाहेर पनि उनीहरु राष्ट्रिय स्वार्थमा काम गर्न सक्दैनन् ।
देश बनाउने हो भने मुलुकलाई सबैभन्दा पहिले प्रणाली अर्थात सिस्टममा लैजानु पर्छ । सिस्टम बसाउन आत्मविश्वासले भरिपूर्ण एक इमान्दार नेता चाहिन्छ । कडा अनुशासन चलाउने अर्थात एक प्रकारको तानाशाह नेपालका लागि आजको आवश्यकता हो ।
यसो भन्दा लोकतन्त्रको विरोधमा बोलेको जस्तो देखिएला तर त्यसो होइन । चाहे वर्तमान ओली सरकार होस, कांग्रेस होस, राजा हुन वा सेना । जो भएपनि तानाशाहा शैलीमा अघि बढ्न जरुरी छ । यसका लागि आफना केही स्वतन्त्रता गुमाउनु परेपनि नेपाली जनता तयार हुनुपर्छ, तर मुलुक बन्नु पर्यो ।
चीन र भारतको सद्भाव, अमेरिका वैरी
नेपालका लागि चीन र भारत दुवैको सद्भाव छ । यहाँको विकास, उन्नति र शान्तिका लागि दुवै मुलुक गम्भीर भएको उनीहरुका अभिव्यक्ति र व्यवहारबाट पनि पुष्टि हुन्छ ।
अहिले आएर चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्ने तयारी गरेका छन् । त्यसको केही समयपछि राष्ट्रपति सी जिनपिङको भ्रमणको सम्भावना पनि छ । भारत सरकार पनि नेपालप्रति सकारात्मक देखिन्छ । दुई ठूला विकसित देशहरुको माया प्रेम र सद्भाव प्राप्त भएका बेला त्यसलाई राष्ट्रहितमा प्रयोग गर्न सक्नु नेपालको क्षमताको कुरा हो । तर, नेपाल सरकार र यहाँका नेताहरुले यसतर्फ गृहकार्य समेत गरेको पाइँदैन ।
तर, सजग हुनुपर्ने अमेरिकासंग छ । अमेरिकाको नियत राम्रो छैन । अमेरिकाले पूरै दक्षिण एशियामा द्वन्द्वको बीउ रोप्न खोजेको छ । उसको काम भनेकै द्वन्द्व मच्चाउने र हतियारको ब्यापार गर्ने हो ।
अमेरिकाले अहिले काश्मिर मामिलामा भारत र पाकिस्तानबीच युद्ध भड्काउन खोजेको छ । चीनसंग व्यापारका नाममा निहुँ खोज्नु पनि यसैको कारण हो । अझ, नेपाल सरकारलाई त प्रत्यक्ष अप्रत्यक्ष प्रलोभन तथा दवाव दिने काम लगातार गरिरहेको छ । नेपाललाई प्रयोग गरेर चीन र भारतविरुद्ध गतिविधि गर्ने उसको योजना छ । यो विषयमा गम्भीर हुन जरुरी छ ।
‘अचम्म त के छ भने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुरक्षाको यति ठूलो चिन्ता भैरहँदा नेपालका प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्छन । के यसले सरकारका गम्भीर सूचना चुहिने खतरा हुँदैन ?’ विश्लेषक पौडेलको प्रश्न छ ।