अन्तरवार्ता भिडियो Breaking News

संघीयता र राजसंस्थाको विषयमा जनमतसंग्रह निर्णायक (भिडियोसहित) 

संघीयता र राजसंस्थाको विषयमा जनमतसंग्रह निर्णायक (भिडियोसहित) 

काठमाडौं : निर्वाचन आयोगमा ‘मौलिक जरो किलो पार्टी’ नामको नयाँ राजनीतिक दल दर्ता भएको छ । नाम नै सुन्दा अनौठो लाग्ने यो पार्टीको परिकल्पनाकार डा. निर्मलमणि अधिकारी हुन भने पार्टीका संयोजक युवा नेता सुशील गौतम रहेका छन् । 

जरो भनेको रुखको जरा जस्तै आफनै धरातल भएको र किलो भनेको गाई बाँध्न प्रयोग हुने जमिनमा गाडिएको काठ अर्थात किलो । यसको अर्थ जरा पनि किलो पनि स्वदेशमै भएको भन्ने हो । नेपालमा रहेका प्रायः सबै दलको जरो किलो विदेशमा रहेकाले उनीहरु स्वदेशी हितमा काम गर्न नसक्ने यो पार्टीको निष्कर्ष छ । यसकारण आफनो देशको परम्परागत धर्म संस्कृति, मूल्य मान्यताको संरक्षण गर्दै अघि बढ्नु नै यो पार्टीको प्रमुख उद्देश्य हो । 

संयोजक गौतमका अनुसार पार्टीको सिद्धान्त ‘राज्य राष्ट्र’ हो । यो देशमा रहेका दलहरुको सिद्धान्त ‘राष्ट्र राज्य’ भयो । ‘राष्ट्र राज्य’ सिद्धान्त भएका दलहरुको जरो किलो विदेशमा हुन्छ । उनीहरुको दर्शन सिद्धान्त सबै आयातीत हो । आफ्नो भन्ने केही पनि छैन । जरो किलो भएको सिद्धान्त भनेको ‘राज्य राष्ट्र’ हो । यो सिद्धान्तले नेपालको मौलिकता, परम्परागत मूल्य मान्यता, धर्म संस्कृति, रीति रिवाज, भाषा संस्कृति सबैको रक्षा गर्छ । 

सातवटै प्रदेशमा पार्टीको समिति बनिसकेकाले काम गर्न सहज भएको छ । त्यसमा पनि जनता परम्परागत दल र नेताहरुबाट वाक्क भैसकेकाले आफूहरु मुलुकको पहिचान जोगाउन विकल्पका रुपमा आएको गौतम बताउँछन् । नेपाललाई अघि बढाउन संविधानका मूलतः तीनवटा प्रावधान परिवर्तन गर्नुपर्ने छ । 

क) संविधानको प्रस्तावनामै रहेको ‘समाजवाद उन्मुख’ भन्ने हटाइ ‘बैज्ञानिक सत्ययुग प्राप्तिका लागि अघि बढ्ने’ भन्ने उल्लेख गर्ने
ख ) धर्मनिरपेक्षता हटाई हिन्दु, बौद्ध, किरात, शीख...लगायत धर्मको उद्गम थलो नेपाल भनेर लेख्ने
ग ) संघात्मक व्यवस्थाको खारेजी । 

यसका अलावमा राजसंस्थाका लागि जनमतसंग्रहमा जानुपर्ने विषय पनि जरो किलो पार्टीले जोडतोडले उठाएको छ । राजसंस्था हटाउँदा दलहरुले पूर्वराजासंग भएको सहमति पालना नगरी उनीमाथि अन्याय गरेकाले एकपटक राजसंस्थाका विषयमा जनमतसंग्रह जरुरी रहेको छ । जनमतसंग्रहबाट जे निर्णय आउँछ, त्यसलाई आत्मसात् गरेर सबैले हिंडनुपर्छ । 

जरो किलो पार्टीको बुझाईमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा युरोपियनहरुको डिजाइनमा चलेको छ । सिद्धान्त उतैबाट ल्याएपछि व्यवहार पनि त्यस्तै हुनु स्वाभाविक हो । संयोजक गौतमका अनुसार नेपालमा कम्युनिष्ट नाम झुण्ड्याएका जति सबै दल पश्चिमा मुलुकका गोटी हुन् । 
नेपाली कांग्र्रेस नेतृत्वविहीन जस्तै भएकाले यसले भविष्यमा राम्रो गर्छ भन्ने कुनै संकेत छैन । यो समाप्तिको दिशामा छ । 

मुलुकुमा खतरा कहिंबाट छ भने त्यो डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी समाजवादी पार्टी, नेपालबाट छ । यो पार्टीले जातीय र साम्प्रदायिक कुरालाई फेरि उठाउन थालेको छ । बाबुरामले कैलालीको टिकापुरमा पुगेर एउटा नमूना प्रस्तुत गरेर आइसके । मुलुकमा जातीय विभाजन ल्याएर द्वन्द्व मच्चाउने यस्ता पार्टी र नेताहरुलाई जनताले अब लखेटनुपर्छ ।’ गौतमको भनाइ छ ।

केपी शर्मा ओली सुशील गौतम जनमतसंग्रह

विशेष