राजनीति

अब नेकपा संसदीय दलको कार्यालय एक ठाउँमा मात्र

अब नेकपा संसदीय दलको कार्यालय एक ठाउँमा मात्र

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको १४ महिनापछि संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ । हालसम्म सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालय दुई ठाउँमा छन् । एकीकृत भएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का संसदीय दलको कार्यालय हालसम्म आ–आफ्नै ठाउँमा छन् । अब ती कार्यालयलाई एकै ठाउँमा ल्याउने तयारी भइरहेको नेकपा संसदीय सचिवालयले जनाएको छ । 

हालसम्म दुई दलबाट बनेका सङ्घीय सांसदहरूको कामकारबाही साबिकको संसदीय दलको कार्यालयबाट भइरहेको छ । एउटा दलको सांसद अर्को संसदीय दलको कार्यालयमा पनि जाँदैनन् । दुवै दलका सांसदको पिजन हल पनि साबिककै संसदीय दलको कार्यालयमा छन् । यसले संसद् भवनबाहेक संसदीय दलको कार्यालयमा एक अर्कासँग भेट पनि हुँदैन । 

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपाको संसदीय कार्यालय राख्ने तयारी सुरु भएको छ । त्यसका लागि लिफ्ट लगाउने काम सकिएको छ भने अन्य काम भइरहेको नेकपाको संसदीय दलमा कार्यरत कर्मचारी जङ्गबहादुर मगरले बताए ।  चौथो तलामा रहेको संसदीय दलको कार्यालयमा दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आउजाउ गर्न समस्या हुने भएकाले सुरुमै लिफ्ट राख्ने काम गरिएको उनले जानकारी दिए ।

नेकपा संसदीय दलको कार्यालय दुईवटा तलामा रहने छन् । पाँचौँ तलामा रहेको समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय, विधायन समिति, प्रत्यायोजित व्यवस्थपान तथा सरकारी आश्वासन समितिलाई अन्यत्र सारेर नेकपाको संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी भइरहेको  उनले बताए । 

तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा संसदीय दलको नेता, उपनेता, सचेतक, राष्ट्रिय सभाका प्रमुख सचेतकको कार्यकक्ष रहेका छन् भने तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख सचेतक र राष्ट्रिय सभा दलको नेताको कार्यकक्ष रहेको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा, उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्ष तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा रहेको हुनाले अधिकृतसहितको कर्मचारी त्यहाँ राखिएको मगरले बताए । याे समाचार गाेरखापत्र दैनिकबाट लिइएकाे हाे । 

 

नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको कार्यालय

विशेष