राजनीति

कांग्रेस बैठकमा नेतृत्वलाई प्रश्‍न : राजनीतिक प्रस्तावमा किन वाइडबडी लेख्‍न नसकेको?

कांग्रेस बैठकमा नेतृत्वलाई प्रश्‍न : राजनीतिक प्रस्तावमा किन वाइडबडी लेख्‍न नसकेको?

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् । 

कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बिहीबारको बैठकमा प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

वाइडबडी प्रकरण लेख्नुपर्ने माग राख्नेमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरू बढी छन् । उनीहरूले सभापति शेरबहादुर देउवाको नामसमेत यस प्रकरणसँग जोडिएर आएकाले दस्तावेजमा चलाखीपूर्वक ‘वाइडबडी’ नलेखिएको आशंका गरेका छन् ।

सभापति देउवाले वाइडबडी प्रकरणको छानबिन गर्न संसद्बाटै माग गरेका थिए । त्यसैअनुसार संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गरेको थियो । तर, देउवाको नाम यस प्रकरणसँग जोडिएर आएपछि नेतृत्व मौन बस्न थालेको पार्टीभित्रै आरोप लाग्दै आएको छ ।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जहाज प्रकरण उल्लेख गर्दा कुन जहाज प्रकरण हो भन्ने कुरा प्रस्ट नभएको बताए । ‘लाउडा काण्ड, चेज काण्ड, विमान दुर्घटना हो कि वाइडबडी भन्ने खोजिएको हो ? प्रस्ट भएन,’ थानीले भने, ‘राजनीतिक प्रस्तावमा वाइडबडी भनेर किटानीसाथ किन लेख्न नसकिएको ?’

सहमहामन्त्री प्रकाशरण महतले ‘वाइडबडी’ मात्रै नभएर ‘न्यारोबडी’को अनियमितताको विषयसमेत आएकाले ‘हवाईजहाज काण्ड’ भनेर लेखिएको बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

नेपाली काँग्रेस

विशेष