राजनीति

खानेपानीमन्त्री बिना मगरको ध्यान मेलम्चीमा भन्दा अन्तै बढी

खानेपानीमन्त्री बिना मगरको ध्यान मेलम्चीमा भन्दा अन्तै बढी

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ । 

गत पुसमा मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाका काम अघि बढ्न सकेका छैनन् । त्यसको करिब ६ महिनापछि मन्त्रिपरिषद् निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन । पुरानो मुख्य ठेकेदार (सीएमसी दि रिभेन्ना) ले आफ्नो रकम नतिरेको भन्दै स्थानीयवासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका हुन् ।

‘अहिलेको अवस्था हेर्दा मेलम्ची खानेपानी आयोजनाका निमित्त मन्त्री–सचिवलागयत सम्बन्धित अधिकारीहरू चौबीसै घण्टा खटिनुपर्ने हो,’ पूर्वसहरी विकास सचिव किशोर थापाले भने, ‘मेलम्ची किन ढिला भयो भन्ने राष्ट्रिय बहसको विषय भइसकेको छ । मन्त्रीले अन्य ठाउँमा नअल्झिएर बढी ध्यान यसमै केन्द्रित गर्नुपर्छ ।’

मन्त्री मगरको दैनिकी भने थापाले अपेक्षा गरेजस्तो छैन । पछिल्ला दुई दिन उनी सहभागी कार्यक्रमहरू मात्रै हेर्दा उनको प्राथमिकता सरकारी योजनाका काममा भन्दा पनि निजी कम्पनीको प्रवर्द्धनमा बढी भएजस्तो देखिन्छ । मन्त्री मगरले बिहीबार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ ले नेदरल्यान्ड्सबाट भित्र्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरिन् भने शुक्रबार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवर्द्धनमा व्यस्त रहिन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष