मंसिर १४ गते तीनै तहको उपनिर्वाचन
सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् ।
करिब डेढ वर्षअघि तीनै तहका निर्नाचन सम्पन्न भएका थिए । विभिन्न कारणले अहिले तीनै तहका गरी विभिन्न पदका ५० स्थान पद जनप्रतिनिधिविहीन बनेका छन् । ती ५० वटै स्थानका लागि सो निर्वाचन हुने भएको हो ।
अहिले रिक्त रहेका पदहरूमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ रहेका छन् ।